पोखरा , २५ चैत २०८२।
प्रहरी जवानको परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेर भागेका एक व्यक्ति सुर्खेतमा पक्राउ परेका छन्।
प्रहरी जवानको अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेर भागेका दैलेखको भगवतिमाई गाउँपालिका–७ घर भै हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएका पवन विक सुर्खेतबाट पक्राउ परेका हुन्।
जैसरा थापाको जाहेरीका आधारमा प्रहरीले पवनलाई मंगलबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। पवन ठगी मुद्दामा संलग्न रहेको जाहेरी परेपछि फरार रहेका थिए ।
पक्राउपरेका विकलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।