पोखरा , २४ चैत २०८२।
स्याङ्जामा सोमबार बेलुका यात्रुवाहक जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घुम्तीबाट बिरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप बेलुकी करिब साढे ५ बजे अनियन्त्रित भई बिरुवा गाउँपालिका–४ मडकिनास्थित डकबाट १५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चालकसहित ११ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार , त्यस दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–११ बस्ने ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा–१७ बिरौटाकी ५६ वर्षीया सीता वाग्ले र पोखरा–१५ जल्पा मार्गकी ६० वर्षीया बिमला गुरुङ घाइते भएका छन् ।
उक्त दुर्घटनामा घाइते हुनेहरूमा स्याङ्जा बिरुवा गाउँपालिका–४ का ८ वर्षीया एन्जल नेपाली, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल र १३ वर्षीय कृष्चल दर्जी छन् ।
यसैगरी स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडी बस्ने ५७ वर्षीय चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली र साढे २ वर्षीय बालक कृष्ण नेपाली पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको प्रदेश अस्पताल पुतलीबजार (स्याङ्जा) मा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनालगत्तै घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा १६ जनाको टोली खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिएका छन् ।