पोखरा , २३ चैत २०८२।
सिन्धुलीको मरिणमा क्रेनको डोरी चुँडिएर टुचनले लाग्दा एकजना चिनियाँ कामदार गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा ३९ वर्षीय वाङसिन रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मरिण गाउँपालिका- ४ सहनमा रहेको हिमालयन फुड चाइनिज कम्पनीमा कार्यरत उनी आइतवार साँझ करिब ६ः३० बजेतिर दुर्घटनामा परेका हुन्।
वीरगन्ज निवासी फकिल मोहमद अंसारीले चलाएको बा.३ क ३६८९ नम्बरको क्रेनले रड उचाली रहेको अवस्थामा डोरी चुँडिदा खसेको टुचनले लाग्दा वाङसिन घाइते भएका हुन्।
अवस्था गम्भीर रहेका उनलाई जिल्ला अस्पताल सिन्धुलीबाट थप उपचारको लागि जनकपुर लगिएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक अशोक कुमार यादवले जानकारी दिए। सोही क्रममा टुचनले लागेर वाङसिनको टाउको, दाहिने कानको छेउ तथा हातमा गम्भीर चोट लागेको जनाइएको छ । उनको अवस्था गम्भिर रहेमो बोल्न नसक्ने अवस्थामा रहेकोे प्रहरीले जनाएको छ ।
घाइतेलाई जनकपुरबाट एयरबस मार्फत थप उपचारको लागि काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि क्रेन चालक अन्सारी फरार रहेका छन् । उनको खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट कार्यस्थलमा सुरक्षा सावधानीको कमी र उपकरण व्यवस्थापनमा त्रुटि हुन सक्ने आशंका गरिएको छ । यस विषयमा कम्पनी व्यवस्थापनसँग पनि आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरूको सुरक्षालाई लिएर पुनः गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस्ता दुर्घटना दोहोरिन नदिन कार्यस्थलमा सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।