फेसबुकमार्फत चिनिएका युवतीहरुलाई भेट्न जाँदा दाङमा कुटपिट : एक जनाको मृत्यु, अर्का घाइते, तीन जना पक्राउ

फेसबुकमार्फत चिनिएका युवतीहरुलाई भेट्न जाँदा दाङमा कुटपिट : एक जनाको मृत्यु, अर्का घाइते, तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २१ चैत्र २०८२
  • 4.6K
    Shares

पोखरा , २१ चैत २०८२।

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनिएका युवतीहरुलाई भेट्न दाङ पुगेका युवाहरुलाई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

फेसबुकमा देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेका युवतीहरुले भेट्न बोलाएपछि दाङ पुगेका दुई युवाहरुलाई कुटपिट हुँदा एक जनाको मृत्यु भएको हो भने अर्का घाइते छन्।

प्रहरीका अनुसार , फेसबुक मेसेन्जरबाट भेट्न निम्तो पाएपछि बिहीबार राती ८ बजे राप्ती गाउँपलिका–२ बह्राखुट्टीस्थित घरबाट निस्किएका १७ वर्षीय स्मिथ प्रधान र सोहि गाउपालिकाको वडा नम्बर १ पाँखापानी निवासी १६ वर्षीय आयुशमान थापा मगर शुक्रबार बिहानपख करीब दुई बजेको समयमा राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेका थिए।

उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो ।

घटनापछि आयुशमान राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए । त्यसपछि उनको उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया लगिएको थियो । हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घाइते आयुशमानसँग सोधपुछ गर्दा शुरुमा केही नबताएपनि पछि उनीसँगै स्मिथ प्रधान रहेको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा थप टोली खटाइएको थियो । खोजतलासका क्रममा घटनास्थलदेखि करिब १।५ किलोमिटर पूर्वतर्फ दोलई खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथ प्रधान मृत फेला परेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा नक्कली आइडी प्रयोग गरेर भेट्न बोलाई योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले रातभर लगाएर उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको बताएको छ। दाङको बंगलाचुली निवासी वर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका वर्ष १८ को निश्चल चौधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया