पोखरा , २० चैत २०८२।
४० हजार रुपैयाँ घुससहित धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
आवश्यक कागजात संकलन गरेर सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रिय कार्यालय टंगालमा पठाइने अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव प्रकाश पोखरेलले जानकारी दिए ।।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई आज ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।