पोखरा , २० चैत २०८२।
बिहिबार दिउसो करीब साढे एक बजेको समयमा एक हुल प्रहरी पोखराको पृथ्वीचोकस्थित यातायात व्यबस्था कार्यालय भित्र पसे। कार्यालय परिसरभित्र रहेका १८ जनालाई ‘बिचौलिया” भन्दै भटाभट सोहोरेर प्रहरी भ्यानमा राख्यो।
प्रहरीले ‘बिचौलिया’ भन्दै रुद्रप्रकाश ढुंगाना, भगवत सुवेदी, भिमबहादुर थापा, रमेश खड्का, जीवन थापा, युवराज वाग्ले, संकल्प क्षेत्री, देव थापा, दीर्घबहादुर खड्का, सरिता भुजेल, देवि पौडेल, बेलमाया अधिकारी, मेनुका अर्याल, भगवती शर्मा, कृष्ण कुमारी केसी, तुलसी अधिकारी र गणेश बहादुर कार्कीलाई नियन्त्रणमा लियो । उनीहरु सबैलाई प्रहरी कार्यालय लगियो। तर ती सबै केही बेरमा प्रहरीको नियन्त्रणबाट मुक्त भए।
पक्राउ परेका सबैको व्यवसायिक दर्ताको प्रमाण पत्र चेक जाँच गर्दा लेखापढी ब्यबसायी भएको प्रमाणित भए पछि नियमानुसार तोकिएको सेवा शुल्क सेवाग्रहीले स्पष्ट देख्ने गरी टाँस गर्ने प्रतिवद्धता जनाएर उनीहरु सबैलाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
यस अघि यातायात व्यवस्था कार्यालय पोखरामा आएका सर्वसाधरण सेवाग्राहिहरूलाई अनावश्यक दुःख हैरानी दिएको भन्ने प्राप्त सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी बस्नेतको दाबी थियो। यता लेखापढी ब्यबसायीहरुले भने आफुहरुले सरकारी निकायबाट आधिकारिक रुपमा अनुमति लिएर लेखापढी व्यवसायीका रुपमा काम गरिरहेको अवस्थामा प्रहरीले आधिकारिकता नहेरी आफूहरुलाई पक्राउ गरेर दुख दिएको गुनासो गरेका छन्। प्रहरी भ्यानमा राख्नु अघि लेखापढी ब्यबसायीहरुसंग उनीहरुको आधिकारिकताका बारेमा सोधीखोजी गरेको भए प्रहरी कार्यालयमा देखाइएको प्रमाणपत्र पहिले नै देखाउन सकिने अवस्था रहेको उनीहरुको जिकिर रहेको छ।
डिएसपी बस्नेतले रिहा गरिएका सबै लेखापढी ब्यबसायीहरुलाई “अव उप्रान्त सेवाग्राही उपर अभद्र व्यवहार नगर्ने, र कार्यालय भित्र गई विचौलियाको काम नगर्ने” शर्तमा छाडिएको जिकिर गरे।
,