पोखरा , १९ चैत २०८२।
माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा शुरु हुनेछ ।
आउने चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार चारसय २१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार पांच सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार आठ सय ५५ जनाले परीक्षा दिने भएका छन् ।
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार छसय १३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ ।
परीक्षाका लागि देशभर एक हजार नौसय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार तीनसय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।
केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षक परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ ।
उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।
परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ ।
परीक्षा भएकै दिन परीक्षक र संपरीक्षकलाई बुझाइने, परीक्षणमा लापर्वाही गरेको पाइएमा लापर्वाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउने, अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।