पोखरा , १७ चैत २०८२।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कपिलबस्तु शाखाका पियन मायादेवी गाउँपालिका–१ का २८ वर्षीय रिशभ कार्की पक्राउ परेका छन्।
बैंकिङ प्रणालीमा अनधिकृत प्रवेश गरी ग्राहकको खाताबाट एक करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका पियन कार्की पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार , विभिन्न मिति तथा समयमा बैंकका कर्मचारीले ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरी आफ्नो प्रयोग गर्ने मोबाइल नम्बर खातामा राखेका थिए । त्यसपछि मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत ट्रान्जेक्सन अलर्टसमेत नहुने गरी ग्राहकहरूको खाताबाट एक करोड ६५ लाख रुपैयाँ अनाधिकृत रूपमा स्थानान्तरण गरिएको पाइएको हो ।
उनलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिपेन्द्र बहादुर सिंहले जानकारी दिए। पक्राउ परेका कार्कीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।
बिगत ८ बर्षदेखि बैंकको तौलिहवा शाखामा कार्यरत २८ बर्षीय रिसभ कार्की बैंकको सिष्टम चलाउँथे । उनलाई बैंकका अन्य कर्मचारीले सिष्टमको पासवर्ड दिएका थिए । त्यसपछि उनी ग्राहकको खातामा रहेको ग्राहकको फोन नम्बर परिवर्तन गरेर आफ्नो फोन नम्बर राखिदिन्थे । त्यसपछि भकाभक ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गर्थे । एक दुई पटक यस्तो गर्दा पनि कसैले थाहा नपाएपछि उनले ग्राहकको रकम चोरेको चोर्यै गरे । ग्राहकको रकम चोर्दा चोर्दै उनले विभिन्न खातावालाको १ करोड ६५ लाख रुपैयाँ चोरेर करोडपति भए । तर ग्राहकले आफ्नो खाताबाट पैसा हराएको थाहा पाएपछि खोजिनिधि गर्दै जाँदा रकम बैंकका पियनले चोरेको पत्ता लाग्यो ।
कार्कीले एक दर्जन भन्दा बढी खातावालको खातामा आफ्नो मोबाइल नम्बर राख्ने,मोबाइल बैंकिङ्ग तथा कनेक्ट आईपिएस प्रयोग गरी पैसा चोरेको पाइएको प्रहरी नायव उपरिक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । अर्थ सरोकारसँग कुराकानी गर्दै सिंहले बैंकमा पियन रहेका कार्कीले बैंकमा रहेका निस्कृय खाताहरुमा रहेको रकम खाता सक्रिय बनाएर चोर्ने गरेका थिए ।
प्रहरीले यस्ता घटनाबाट जोगिन ग्राहकलाई आफ्नो बैंक खातामा प्रयोग भएको मोबाइल नम्बर तथा मोबाइल बैंकिङ विवरण नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । साथै कुनै असामान्य गतिविधि देखिए तत्काल सम्बन्धित बैंक तथा प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रहरीका अनुसार बैंकिङ प्रणालीको दुरुपयोग गरेर रकम हिनामिना गर्ने घटनामा थप अनुसन्धान भइरहेको छ ।