पोखरा , १५ चैत २०८२।
सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय सुर्खेत जिल्ला अदालत पुगेको छ ।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आबश्यक अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले तयार पारेको अनुसन्धानका आधारमा आज जिल्ला सरकारी वकिलको कार्यालयले चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले दिएको जानकारी अनुसार , चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर गरिएको छ । ‘कानुनको विवादमा परेका बालकहरूले मृतकलाई जबर्जस्ती करणी गरी ज्यान मारेको वारदात पुष्टि भएको देखिई निज बालकहरूले सामूहिक जबर्जस्ती करणीतर्फको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरीत उपदफा (२) र उपदफा (७) बमोजिमको कसुर अपराध गरेको तथा कर्तव्य ज्यानतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ सरकारी वकिल कार्यालयले अभियोगपत्रमा भनेको छ ।
उनीहरूविरुद्ध सामूहिक जबर्जस्ती करणीतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरीत उपदफा (२) र उपदफा (७) बमोजिमको कसुरमा सोही संहिताको दफा २१९ (३) (घ) बमोजिम कैद र सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाको सजाय माग गरिएको छ ।
यस्तै, सोही संहिताको दफा २१९ को उपदफा (७) बमोजिम थप सजाय हुने ठहर अभियोगपत्रमा गरिएको छ । कर्तव्य ज्यानतर्फ सोही संहिताको दफा १७७(१) बमोजिमको कसुरमा ऐ संहिताको दफा १७७(२) बमोजिम सजाय हुने अभियोगपत्रमा दाबी गरिएको छ ।
सामूहिक रूपमा जबर्जस्ती करणी गरी ज्यान मारेको अभियोगमा उनीहरूलाई आजन्म कैद सजायको माग अभियोगपत्रमा गरिएको छ । यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाबाट प्राप्त हुने रकम तथा सोही संहिताको दफा २२८ र दफा १८६ बमोजिम कानुनको विवादमा परेका बालकहरू परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ बाट मृतकका हकवालालाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।