पोखरा , १५ चैत २०८२।
बाँकेको नेपालगन्जमा आधा जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा आज बिहान एक युवतीको आधा जलेको अवस्थामा शव भेटिएको हो । मृतक युवतीको हालसम्म पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब २५–३० वर्षीया युवती आगोले जलेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए । जलेको अवस्थामा फेला परेकी युवतीलाई उद्धार गरेर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । घटनास्थलको अवस्थाका आधारमा महिलालाई जिउँदै आगो लगाइएको स्थानीयबासीले आशंका गरेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि उनको मृत्युको कारण नखुलेको र मृतकको सनाखत पनि हुन सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।