लमजुङमा बन्चरोले हानेर श्रीमतीसहित तीन जना घाइते, दुई जनाको अवस्था गम्भीर

लमजुङमा बन्चरोले हानेर श्रीमतीसहित तीन जना घाइते, दुई जनाको अवस्था गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०८२
  • 2.4K
    Shares

पोखरा , १२ चैत २०८२।

मानसिक सन्तुलन गुमाएका एक व्यक्तिले लमजुङमा बन्चरोले हानेर आफ्नी श्रीमतीसहित तीन जनालाई घाइते बनाएका छन्।

लमजुङको दोर्दी गाउँपालिका–५ सादीखोलामा मानसिक स्थिति ठिक नभएका ४९ वर्षीय बगन गुरुङले बन्चरोले हानेर आफ्नी श्रीमतीसहित तीन जनालाई घाइते बनाएका हुन्।

बगन गुरुङको आक्रमणमा परेर उनकी श्रीमती ४५ वर्षीया चिजमाया गुरुङ, छिमेकी ७२ वर्षीय गर्वलाल गुरुङ र १० वर्षीय अनमोल गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

घटनामा उनकी श्रीमती ४५ वर्षीया चिजमाया गुरुङ गम्भीर घाइते भएकी छन्। त्यस्तै ७२ वर्षीय गर्वलाल गुरुङ र १० वर्षीय अनमोल गुरुङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई तत्काल उद्धार गरी प्रदेश अस्पताल बेसीशहरमा उपचारका लागि ल्याइएको थियो।

प्रदेश अस्पताल बेसीशहरका अनुसार घाइतेमध्ये दुई जनाको टाउकोमा गम्भीर चोट देखिएकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ। ४५ वर्षीय उनको श्रीमतीको पेट तथा हातमा गम्भीर चोट लागेकाले अस्पतालमै करिब पांच घण्टा लामो शल्यक्रिया गरिएको छ। हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्राप्त विवरण अनुसार , बुधबार बिहान करिब ५ः३० बजे घरायसी बिबादमा गुरुङले श्रीमतीमाथि आक्रमण शुरु गरे पछि छुटाउन भनेर गएका गर्वलाल गुरुङ र अनमोल गुरुङमाथि पनि उनले बन्चरो प्रहार गरेको बताइएको छ।

घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। प्रहार गर्ने गुरुङलाई जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार बगनको मानसिक स्थिति सन्तुलित थिएन, पहिलैदेखि अस्थिर थियो। Bipolar disorder/ Intermittent Explosive Disorder typeको रोगबाट ग्रसित थिए ।

प्रतिक्रिया