पोखरा, ९ चैत २०८२।
एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका म्याग्दीका युवाको हत्या भएको खुलासा भएको छ।
गएको फागुन ७ गते म्याग्दीको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको हत्या भएको खुलासा भएको हो।
सौरव भनिने सुकमन विकको हत्या आरोपमा दानाका २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।
शव परीक्षण प्रतिवेदन र घटनाको सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि सौरवको हत्या भएको खुले पछि प्रकाश विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार , गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो। घटनाको बारेमा जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शवलाई परीक्षणका लागि बेनी अस्पताल ल्याएको थियो।
‘शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्’, उनले भने, ‘मदिरा सेवनपछि भएको विवादले हत्याको रूप लिएको प्रकाशले स्वीकारेका हुन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास भएको बुझिएको छ।’
ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।