पोखरा, ७ चैत २०८२।
पाल्पामा ट्रिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्लाको झडेवाबाट चुनढुङगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली ट्रिपर पाल्पाको माथागढी गाउँपालिका–७ झडेवासस्थित कच्ची सडक खण्डमा आज साँझ करिब ६ बजे दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका हुन्। उक्त ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बताएका छन ।
उक्त दुर्घटनामा चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय चिन्ता बहादुर सुनारसहित अन्य दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेकोे छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।