पोखरा , ५ चैत २०८२।
भक्तपुरको नगरकोट जाने बाटोमा दुई जना मोटरसाइकल राइडर (भ्लगर) माथि बीच सडकमै कुटपिट र अभद्र व्यवहार गर्ने ट्याक्सी चालक पक्राउ परेका छन्।
मोटरसाइकल राइडरहरुलाई कुटपिट तथा दुर्ब्यबहार गरेको आरोपमा ट्याक्सी चालक भक्तपुरको चाँगुनारायण–६ नगरकोटका निवासी ४१ वर्षीय गणेश वाइबा तामाङ पक्राउ परेका हुन्।
उनलाई अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले बिहीबार भक्तपुरको दार्जिलिङ हाइटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जबेगु लिम्बुले जानकारी दिए ।
गत शनिबार भक्तपुरको तेलकोट-नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर तामाङले बाटो छेकी दुई जना भ्लगरमाथि कुटपिट गरेका थिए ।
कारबाट उत्रिएर उनले हेलमेट लगाएका युवाहरूलाई थप्पड हानेको र दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ सार्वजनिक भएपछि प्रहरीले ती व्यक्तिको खोजी कार्यलाई तीव्रता दिएको थियो ।
यसअघि सामाजिक सञ्जालमा उक्त व्यक्तिको पहिचान र पक्राउका विषयमा विभिन्न भ्रम र ‘एआई सिर्जित’ भिडिओहरू समेत सार्वजनिक भएका थिए । पक्राउ परेका तामाङमाथि अभद्र व्यवहार लगायतका मुद्दामा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।