एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना अपडेट : घाइते एक जनालाई थप उपचारका लागि काठमाण्डौ लगियो

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना अपडेट : घाइते एक जनालाई थप उपचारका लागि काठमाण्डौ लगियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०८२
  • 4K
    Shares

पोखरा ,४ चैत २०८२।

खोटाङमा एयर डाइनेस्टीको (एन-एएफक्यू) हेलिकप्टर बुधबार मध्यान्ह भएको दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौ पुर्याइएको छ।

जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा उक्त हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा घाइते भएका काठमाडौं घर भएका काजीबहादुर राईलाई थप उपचारका लागि सोही कम्पनीको अर्को हेलिकप्टरबाट काठमाण्डौ पुर्याइएको हो। उनको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।

वड़ाध्यक्ष राईले भने, ‘हेलिकप्टरमा पांच जना चढेपछि शव राख्ने ठाउँ भएन छ । शवबहानमा शव हालेर उहाँहरू चाहिँ काठमाडौंबाट हेलिकप्टरमा खोटाङ आउनु भएको रहेछ । अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।’

शव भने भोलि मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले पाएको वडाध्यक्ष राईले बताए ।

हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि काठमाडौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाएको छ । एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरू सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा छ । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकेको पनि क्यानले उल्लेख गरेको छ ।

प्रतिक्रिया