पोखरा ,४ चैत २०८२।
बागलुङमा जिप दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका छन्।
गलकोटबाट बागलुङ बजारतर्फ जादै बोलेरो जिप अनियन्त्रित भई सडकको बाँया साइडको नालीमा पल्टिँदा गाडीका चालकसहित सात जना घाइते भएका हुन्।
दुर्घटनामा चालक खत्रीको दाहिने हातमा सामान्य चोट लागेको छ । त्यसैगरी गलकोट नगरपालिका–९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर के.सी.को टाउको र दाहिने हातमा, गलकोट नगरपालिका–३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हातमा चोट लागेको छ। यस्तै गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको छ ।
गलकोट नगरपालिका–७ बामियाँका २४ वर्षीय रोशन थापाको टाउको र बाँया हातमा सामान्य चोट लागेको छ । त्यसैगरी गलकोट नगरपालिका–३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनीको घाँटी र गलकोट नगरपालिका–३ हटियाका २२ वर्षीय करण सहनीको नाकमा सामान्य चोट लागेको छ ।
घाइतेहरुको धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।