बाँकेमा शृंखलाबद्ध तीन जनाको हत्या आरोपी भारतबाट पक्राउ

बाँकेमा शृंखलाबद्ध तीन जनाको हत्या आरोपी भारतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० फाल्गुन २०८२
  • 8.2K
    Shares

पोखरा १० फागुन २०८२।

बाँकेमा शृंखलाबद्ध तरीकाले तीन जनाको हत्यामा संलग्न रहेका एक व्यक्ति २० वर्षपछि भारतमा पक्राउ परेका छन्।

बाँके जिल्लामा भएका बिभिन्न तीन वटा हत्याकाण्डमा संलग्न रहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान २० वर्षपछि भारतमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।

उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । उनी बाँकेकै इन्तजार भनिने मोहम्मद अरबी खाँको ०८० साल चैत १७ गते, रियाज खाँ को २०६२ साल भदौ ११ गते र हफिजुल्ला खाँको २०६१ साल असार १७ गते भएको हत्यामा संलग्न रहेको आरोप छ। उनी उल्लेखित तीन हत्याकाण्डमा संलग्न रहेर फरार रहेको प्रहरीको दाबी छ।

पछिल्लो पटक २०८० साल चैत १७ गते नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो घरबाट २२ वर्षीय इन्तजार भनिने मोहम्मद अरबी खाँ हराएका थिए । राति ११ बजेतिर उनलाई अपरिचित व्यक्तिले बेपत्ता बनाएका थिए । भोलिपल्ट बिहान साढे ९ बजेतिर उनको घरदेखि करिब ५०० मिटर दक्षिणतर्फको गंगापूर्वादेखि तेलियनपुर जाने कच्ची सडकको बाटोमा अरबीको शव भेटिएको थियो । घाँटी रेटेर काटिएको अवस्थामा उनको शव फेला परेको थियो भने पेटमा कुनै धारिलो वस्तु रोपेको भेटिएको थियो ।

घटनाको करिब दुई वर्षपछि अहिले यो हत्याका अभियुक्त पठानलाई पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

नेपाल–भारतको सीमा क्षेत्रमा लुकिछिपि बसेका उनी निर्वाचनको मौकामा नेपाल छिर्दै गर्दा पक्राउ परेको भनेर प्रहरीले औपचारिक रुपमा बताएको छ । यद्यपि उनी भारतबाट पक्राउ परेका हुन् ।

व्यक्तिगत रिसईबीका कारण उनले अरबी खाँको हत्या गरेको प्रहरीले अधिकारीहरूले बताएका छन् । तर त्यो कस्तो प्रकारको रिसईबीको हो भन्नेबारे पूर्ण अनुसन्धान भएपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

भारतबाट पक्राउ गरेर ल्याएका पठानविरुद्ध जिल्ला अदालत बाँकेबाट कर्तव्य ज्यान मुद्दाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी जिसीले बताए ।

प्रतिक्रिया