पोखरा, २२ पुष २०८२।
बंगलादेशमा ४४ वर्षीया हिन्दु समुदायकी एकल महिलालाई सामूहिक बलात्कार गरिनुका साथै निर्मम यातना दिइएको छ।
करीब दुई वर्ष अघि बंगलादेशको झेनाइदाह जिल्लाको कालीगन्ज क्षेत्रमा घरजग्गा किनेर बस्न आएकी ती एकल महिलालाई जग्गा बेच्ने व्यक्तिहरुले नै सामूहिक बलात्कार गरिनुका साथै निर्मम यातना दिइएको स्थानीय संचार माध्यमहरुले समाचार लेखेका छन्।
उनीहरुले ती महिलालाई बलात्कारपछि पनि रुखमा बाँधेर कुटपिट गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ। बलात्कारका बेला महिलाको कपाल काटिएको, कुटपिट गरिएको र सम्पूर्ण घटना मोबाइल फोनमा भिडिओ रेकर्ड गरिएको बताइएको छ।
यस घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ र बाँकी आरोपितको खोजी भइरहेको छ। पीडितले सोमबार दिउँसो कालीगन्ज प्रहरी कार्यालयमा चार जनाविरुद्ध जाहेरी दिएकी छन्।
तीममध्ये प्रहरीले ४५ वर्षका हसन नामका व्यक्तिलाई पक्राउ गरेको हो। उनी त्यही क्षेत्रस्थित एक गाउँका बासिन्दा हुन्।
आफन्तहरूलाई कोठामा थुनेर बलात्कार
प्रहरी र स्थानीय बासिन्दाका अनुसार, महिलाले करिब दुई वर्षअघि गाउँमा घर र जग्गा किनेकी थिइन्। उनले आरोपित साहिनका भाइबाट जग्गा किनेकी थिइन्। जग्गा किनेदेखि नै साहिनले उनलाई दुःख दिइरहेका थिए र उनीसँग पैसा मागिरहेका थिए।
महिलाका दुई पुरुष आफन्त शनिबार साँझ उनलाई भेट्न आएका थिए। साहिन र हसन जबरजस्ती घरमा प्रवेश गरे। उनीहरूले महिलाका आफन्तहरूलाई एउटा कोठामा बन्द गरे र अर्को कोठामा लगेर उनलाई बलात्कार गरे।
त्यसपछि उनीहरूले महिला र उनका आफन्तहरूलाई घरबाट बाहिर निकाले, रुखमा बाँधे र अश्लील क्रियाकलाप गरेको झुटो आरोप लगाए।
महिला आफ्नो १० वर्षीय छोरासँग बस्थिन्। स्थानीयले शनिबार राति उनलाई गम्भीर अवस्थामा फेला पारे र अस्पताल लगे।महिलाको उपचारका कारण जाहेरी दर्ता ढिला भएको हो।
प्राप्त सामाचार अनुसार , बंगलादेशमा पछिल्लो तीन हप्तामा चार हिन्दुको हत्या गरिएको छ। सोमबार साँझ जेसोर जिल्लामा एक हिन्दु व्यापारीको गोली हानी हत्या गरिएको छ।
बंगलादेशमा पछिल्लो तीन हप्तामा चार हिन्दुको हत्या गरिएको छ। सोमबार साँझ जेसोर जिल्लामा एक हिन्दु व्यापारीको गोली हानी हत्या गरिएको छ। घटना मोनिरामपुर क्षेत्रको कोपलिया बजारमा भएको हो। मृतक ३८ वर्षीय राणा प्रताप वैरागी भएको प्रहरीले जनाएको छ। उनी दुई वर्षदेखि त्यहाँ बरफ कारखाना चलाइरहेका थिए। उनलाई गोली हानेर हत्या गरिएको थियो।
यसअघि डिसेम्बर १८ मा एक, डिसेम्बर २४ मा एक र डिसेम्बर २९ मा एक हिन्दुको हत्या भइसकेको छ।