काठमाडौँ, २० पुष २०८२।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी पक्राउ भएको दाबी गरेपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्।
बोन्डीले ट्वीटरमा लेखेकी छन्, “निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को-आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ। उनले चाँडै अमेरिकी अदालतमा न्यायको सामना गर्नेछन्।” तर मादुरोकी पत्नीलाई के कस्ता आरोपको सामना गर्नु पर्ने हो भन्ने कुरा उनले स्पष्ट पारिनन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत लेखेका थिए, “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा अपरेसन सफलतापूर्वक सुरु गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ। यो अपरेसन अमेरिकी कानुन प्रवर्तनसँगको सहकार्यमा गरिएको हो। विवरण चाँडै जारी गरिनेछ।”
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाको आक्रमणपछि मादुरो दम्पतीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण मागेकी छन्। उनले भनेकी छन्, “भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।”
अमेरिकी अधिकारीहरूले सीबीएस न्युजसँग भनेका छन् कि मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको बताइएको छ। अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा हवाई हमला गरेको थियो।
यसपछि भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तुरुन्तै सैन्य बल तैनाथ गर्ने घोषणा गरेका छन्।