ताइवान मुद्दा दुनियाँभर: चीनले जापानविरुद्ध राष्ट्रसंघमा आधिकारिक गुनासो दर्ता

ताइवान मुद्दा दुनियाँभर: चीनले जापानविरुद्ध राष्ट्रसंघमा आधिकारिक गुनासो दर्ता


  • एजेन्सीहरु
  • शनिबार, ६ मंसिर २०८२
  • 4.5K
    Shares

पोखरा ६ मङ्सिर २०८२।

चीन र जापानबीच ताइवानको विषयलाई लिएर बढ्दै आएको कूटनीतिक विवाद अब संयुक्त राष्ट्रसंघसम्म पुगेको छ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले हाल संसदमा दिएको ताइवानसम्बन्धी टिप्पणीप्रति आपत्ति जनाउँदै चीनले औपचारिक रूपमा राष्ट्रसंघमा उजुरी दर्ता गरेको हो।

चीनका राष्ट्रसंघीय राजदूत फु कोङका अनुसार ताकाइचीको वक्तव्यले अन्तर्राष्ट्रिय कानुन र चीन–जापानबीचका मूलभूत राजनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाइएको छ। उनले महासचिवलाई बुझाएको पत्र अब सबै सदस्य देशमा वितरण गरिने जनाइएको छ।

विवाद चुलिँदै गएपछि चीनले जापानी समुद्री खाद्य पदार्थको आयात अवरुद्ध गरेको छ। चीनको वाणिज्य मन्त्रालयले जापानसँगको व्यापारिक सहकार्य “गम्भीर रूपमा क्षतिग्रस्त” भएको दाबी गरेको छ।

जापानले भने प्रधानमन्त्री ताकाइचीको वक्तव्य बाहिरी दबाबमा परेर फिर्ता नलिइने स्पष्ट गरिदिएको छ। यही कारण दुई देशबीच सुरु भएको वार्ता प्रारम्भिक चरणमै रोकिएको बताइन्छ।

कूटनीतिक तानातानबीच अमेरिकाले खुलेर जापानको पक्ष लिँदै चीनको “आर्थिक दबाब र जबरजस्ती” को आलोचना गरेको छ। वाशिङ्टनले जापानसँग सुरक्षा प्रतिवद्धता “अडिग” रहने जनाएको छ।

ताइवानको संवेदनशीलताका कारण चुलिएको यो कूटनीतिक द्वन्द्वले पूर्वी एसियाको शक्ति सन्तुलनमा थप तनाव उत्पन्न भएको विश्लेषकहरूको मत छ।

प्रतिक्रिया