भारतको लद्दाखमा “छुट्टै राज्यको”मागसहितको आन्दोलन चर्किदै : इन्टरनेट सेवा बन्द, सामाजिक अभियन्ता सोनाम वाङचुक गिरफ्तार

भारतको लद्दाखमा “छुट्टै राज्यको”मागसहितको आन्दोलन चर्किदै : इन्टरनेट सेवा बन्द, सामाजिक अभियन्ता सोनाम वाङचुक गिरफ्तार


  • समाचार एजेन्सीहरु
  • शुक्रबार, १० असोज २०८२
  • 4.9K
    Shares

पोखरा १० असोज २०८२ ।

भारत् प्रशासित प्रदेश लद्दाखमा छुट्टै राज्यको माग राखेर शुरु गरिएको आन्दोलन चर्किदै गइ रहेका बेला त्यहाँ भारत सरकारले इन्टरनेट सेवा बन्द गरेको छ भने छुट्टै राज्यको माग राखेर शुरु गरिएको आन्दोलनका पक्षधर सामाजिक कार्यकर्ता सोनम वाङचुकलाई प्रहरीले पक्राउ गरेको छ।

दुई दिनअघि लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा सामाजिक कार्यकर्ता सोनम वाङचुकलाई जिम्मेवार ठहर्‍याउदै पक्राउ गरिएको समाचार भारतीय सञ्चारमाध्मयहरुले प्रशारण गरिरहेका छन्। वाङचुकको पक्राउपछि लेहमा इन्टरनेट बन्द गरिएको छ।

सेप्टेम्बर २४ मा लेहमा भएको हिंसापछि लगातार तेस्रो दिन कर्फ्यु लगाइएको छ। स्कुल र कलेज शनिबारसम्मका लागि बन्द गरिएका छन्।

लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा लेहमा हिंसा भड्किएको थियो।

जसमा परी चार युवाको मृत्यु भएको थियो भने ४० प्रहरीसहित ८० जना घाइते भएका थिए। अहिलेसम्म ६० जना पक्राउ परेका छन्।

गत बुधबार प्रदर्शनका क्रममा आक्रोशित युवाहरूले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो। त्यस क्रममा लेहमा रहेको भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी पनि गरिएको थियो।

त्यसबेलै भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी वाङचुकले नेपालमा हालै भएको जेन-जेड आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप लगाएको थियो।

प्रतिक्रिया