पोखरा, २४ भदौ २०८२।
जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाभन्दा बढीको ज्यान गएपछि विभिन्न शैक्षिक संघ संस्थाहरुले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन् ।
एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै, काठमाडौं तथा ललितपुर महानगर र जिल्लाले पनि विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् ।
आज भएको जेन-जी आन्दोलनलाई ध्यान दिँदै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालय भदौ २६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।
सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘काठमाडौँ महानगरपालिकाले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।’
भ्रष्टाचार र बेथितिको विरोधमा सोमबार आन्दोलनमा उत्रिएका जेन-जीका युवामाथि सरकारले दमन गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। ४ सयभन्दा बढी घाइते छन्।
काठमाडौँ महानगरका प्रमुख बालेन शाहले जेनजीको प्रदर्शनमा समर्थन र सहयोग गर्दै आएका छन्। उनले सोमबार दिउँसो प्रदर्शनका क्रममा प्रदर्शनकारीका लागि पानी पठाइदिएका थिए।