पोखरा, १८ भदौ २०८२ ।
गएराती नवलपुरको लौकाहामा कन्टेनर र ट्रक ठोक्किंदा एक जना कन्टेनर चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नं. को कन्टेनर र बुटवलबाट नारायणगढतर्फ आउदै गरेको प्र.२-०३००१ ख ४०५६ नं. को ट्रक गएराती करीब साढे ११ बजेको समयमा नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १५ लोकहा स्थित पुर्व पश्चिम राजमार्गमा एक आपसमा ठक्कर खाँदा कन्टेन चालकको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन्।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासीको सुस्ता गाउपालिका १ बस्ने कन्टेनर चालक अन्दाजी बर्ष ३०।३५ को माधव पंगेनीको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृयु भएको प्रहरीले जानकारी दिएको छ।
सोहि दुर्घटनामा परेका उक्त कन्टेनरका सह चालक चितवन राप्ती नगरपालिका ७ बस्ने बर्ष ३६ को रामबहादुर सार्की र ट्रक चालक महोत्तरीको बर्दिवास नगरपालिका ११ बस्ने बर्ष ३० को बिचबहादुर थिङको चितवनस्थित अस्पतालमा उपचार भैरहेको बताइएको छ।
कन्टेनरका सह चालक रामबहादुरको टाउकोमा चोट लागेको र मध्यम अवस्थामा एलाइभ अस्पताल भरतपुरमा उपचार जारी रहेको बताइएको छ। त्यस्तै अर्का घाइते ट्रक चालक बिचबहादुर थिङको पनि शरिरको बिभिन्न भागमा चोट लागेकाले मध्यम अवस्थामा एलाइभ अस्पताल भरतपुरमा नै उपचार भएको प्रहरीले बताएको छ।
उक्त घटना पश्चात कन्टेनर र ट्रक दुबैलाई अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ।