पोखरा, १८ भदौ २०८२ ।
सिराहामा आमाछोरा मृत भेटिएका छन् भने अर्का एक छोरा गम्भीर बिरामी अवस्थामा फेला परेका छन्।
सिरहाको लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका पांच वर्षका छोरा एरोन मृत भेटिएका हुन् भने नौमहिनाका अर्का छोराको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहले बताए।
प्रहरी निरीक्षक दीपककुमार सिंहका अनुसार , रञ्जिता झुण्डिएको अवस्थामा र उनका जेठा छोरा एरोन भने खाटमुनि मृत भेटिएका थिए। नौमहिनाका छोराको प्रादेशिक अस्पताल लहानबाट सप्तऋषि अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको पनि सिंहले बताए।
लहान नगरपालिका-१२ भोटिया टोलमा रहेको डेराकोठामा घरभित्रबाट चुकुल लगाएको अवस्थामा घटना भएको देखिएको प्रहरीले बताएको छ। दुई जना बच्चालाई विष सेवन गराएर रञ्जिता आफुले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
उनका श्रीमान प्रविण चौधरी भने बाहिरै बस्दै आएका थिए। उनी दुई तीन दिनमा घर आउने गरेको भएपनि पछिल्लो समय घरमा नआएको खुलेको प्रहरीले बताएको छ।
उनको खोजी कार्य भइरहेको सिंहले बताए। मृतक दुवै जनाको शव प्रादेशिक अस्पतालमा राखिएको छ।