काठमाडौँ, १५ भदौ २०८२ ।
युक्रेनी संसद्का पूर्वसभामुख एन्ड्री पारुबीको गोली हानि हत्या गरिएको छ। ई-बाइकमा आएका एक आक्रमणकारीले शनिबार पश्चिमी युक्रेनको ल्विभमा शहरमा पूर्वसभामुख पारुबीको धेरै गोली हानि हत्या गरेका युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्।
५४ वर्षीय पारुबी २०१४ को आन्दोलनमा एक प्रमुख नेता बनेर उदाएका थिए। युरोपेली संघसँग घनिष्ठ सम्बन्धको वकालत गरेको आन्दोलनका कारण तत्कालीन रुस-समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचले सत्ता त्याग्नुपरेको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘क्रूर हत्या’ भन्दै शोक सन्देश जारी गरेका छन्। उनले पारुबीको परिवार र समर्थकहरूप्रति समवेदना व्यक्त गरेका छन्।
घटनाबारे राष्ट्रिय प्रहरी, ल्विभ क्षेत्रीय प्रहरी र सुरक्षा सेवाले अनुसन्धान सुरु गरेका छन्। हत्याको कारण खुलेको छैन।