पोखरा, ९ भदौ २०८२।
मोटरसाइकलको चर्को आवाजको विषयले उग्र रुप लिंदा भएको कुटाकुटमा स्याङ्जाका एक युवाको मृत्यु भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका-५, जर्कोटमा शनिबार राति भएको कुटपिटबाट ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको हो।
घटना विवरण अनुसार , वालिङ ७ सपाउदेमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकलको आवाजलाई लिएर ढालबहादुर थापा र अन्य केही युवाहरूबीच भनाभन भएको थियो। सोही क्रममा उनीहरूबीच झडप हुँदा थापा गम्भीर घाइते भएका थिए। घाइते थापालाई तत्कालै गण्डकी मेडिकल कलेज पोखरा ल्याइएव्कोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनास गाउँपालिका-५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका-५, काम्तीका २४ वर्षीय अनिल शाही रहेका छन्।
यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अन्य संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।