पोखरा २९ साउन २०८२।
गुण्डा नाइके चक्रे मिलन अदालतको आदेश बमोजिम धरौटीमा छुटे लगत्तै फेरि पक्राउ परेका छन्।
जिल्ला अदालत काठमाडौँले तोकेको ३० हजार रुपियाँ धरौटी राखेर हिरासतमुक्त भएका एमाले नेता समेत रहेका गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले फेरि पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरी परिसर भक्तपुरमा अर्को मुद्दा रहेको भन्दै प्रहरीले फेरि पक्राउ गरेको संचार स्रोतहरुले जानकारी दिएका छन्। उनलाई न्जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।
यसअघि उनीसहित् १९ जनालाई जिल्ला अदालत काठमाण्डौले अभद्र व्यवहारको कसुरमा धरौटीमा छाड्न आदेश दिएको थियो। उनीहरूले काठमाडौँको चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउँदा स्थानीयलाई त्रसित हुने गरी गतिविधि गरेको आरोप थियो। सडकमै सवारी साधान रोकेर आवतजावतमा अवरोध गरेको, गाडीमा घरेलु हतियार बोकेको र समूह बनाइ होहल्ला गरी सर्वसाधारण नागरिकलाई डर धाक धम्की दिएको आरोप पनि थियो।
साउन १६ गते राति साढे १ बजेसम्म होटलमा बसेर ठूलो आवाजमा चिच्याउने, अश्लिल अपशब्दहरू प्रयोग गरेर कराउने, विगत केही दिनदेखि नै विभिन्न स्थानमा केक काटेर जन्म दिन मनाउँदा सार्वजनिक स्थानहरूमा हो हल्ला गरेको, घरेलु हतियार प्रदर्शन गरेको, ती गतिविधिका भिडिओ सामाजिक सञ्जालमा राखेर थप आतंकित पारेको र शान्ति भंग गरेको आरोप उनीहरूलाई लगाइएको थियो
उनीहरूले यस्ता गतिविधि गरेको सूचनापछि पुगेको प्रहरीलाई समेत तथानाम गालिगलौज गरेको, हातपातको प्रयास गरेको र अभद्र व्यवहार गरेको अभियोग पत्रमा उल्लेख थियो। उनीहरूको गाडीबाट प्रहरीले दुई थान खुकुरी, स्प्रेको बट्टा एक थान, फलामको रड २ थान पनि बरामद गरेको थियो।
चक्रे मिलनसहितका प्रतिवादीहरू यसअघि पनि पटक-पटक विभिन्न मुद्दाहरूमा पक्राउ परी छुट्दै आएको प्रहरीको अभिलेखमा फेला परेको छ। गणेशबहादुर बोगटीलाई यसअघि २०८० मंसिर ६ गते ७ दिनको कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
उनी २०७९ चैत २७ गते पक्राउ परेका थिए। त्यसपछि उनी २०८० वैशाख ३ गतेसम्म हिरासतमा बसेकाले उनको कैद कट्टा भएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले कैद कट्टा भइसकेको जानकारी दिएको छ।
डिल्लीराज कँडेललाई पनि यसअघि अभद्र व्यवहारको कसुरमा एक हजार ८ सय जरिवाना तोकिएको थियो। रितिक लामाविरुद्ध पनि यसअघि अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०८० असार ६ गते ३ हजार रुपैयाँ जरिवाना र १६ दिन कैद तोकिएको थियो।
यसअघि समेत उनीहरूले कसुर गरेकै कारण यसपटक भने अभद्रै व्यवहारको मुद्दा अदालत पुगेको हो। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको थियो।
कसलाई कति धरौटी ?
१. चर्के मिलन भन्ने मिलन गुरुङ – ३० हजार
२. राजेश भन्ने रोजेश खड्का- ३० हजार
३. चन्द्र देव कार्की -१० हजार
४. प्रकाश गोले -१० हजार
५. आमिर आलेमगर -१०हजार
६ . उत्तम महर्जन -१० हजार
७ . प्रनिश कँडेल -१० हजार
८. राजु परियार -१० हजार
९ . रितिक लामा – २० हजार
१० .गणेशबहादुर बोगटी – २० हजार
११ .रोशन सुवेदी – १० हजार
१२. सन्दीप के.सी -१० हजार
१३ . राहुल खड्का -१०हजार
१४ . यामु पौडेल -१० हजार
१५ . सौरभ सुनार -१० हजार
१६ . डिल्लीराज कँडेल -२० हजार
१७. जीत बहादुर लामा – १० हजार
१८ .सफल भन्ने सुजल शाही- १० हजार
१९ . निराजन पौडेल – १० हजार