भुटानी शरणार्थीद्वारा अमेरिकामा आफ्नी नेपाली श्रीमती र छोराको हत्यापछि आत्महत्या

भुटानी शरणार्थीद्वारा अमेरिकामा आफ्नी नेपाली श्रीमती र छोराको हत्यापछि आत्महत्या


  • एजेन्सीहरु
  • सोमबार, २६ साउन २०८२
  • 6.6K
    Shares

अमेरिकामा एक नेपालीले आफ्नी श्रीमती र छोराको हत्या गरेर आफुले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्।

नेपाली मुलका भुटानी शरणार्थी ५३ वर्षीय ललित प्रधानले शनिबार बिहान २ बजेर १० मिनेटमा अमेरिकाको टेक्सस राज्यको डालास शहरस्थित डडली स्ट्रिटको १९०० ब्लकमा नेपाल घर भएकी आफ्नी ३७ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेर आफुले आफैलाई गोली हानि आत्महत्या गरेका हुन्।

डालास प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार , ललितले पत्नी र छोरालाई गोली हानी हत्या गरेपछि सोही पेस्तोल प्रयोग गरेर आफूमाथि गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको र ललितलाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरिएको थियो ।

लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका ललितले घटनाको एक दिन अघि मात्र आफू लामो समयदेखि तनावमा रहेको र काममा समेत उपस्थित हुन नसकेको बारे आफ्नो फेसबुकवालमा पोष्ट गरेका थिए । ‘मैले र मेरो परिवारले सरकारी सेवाहरु प्राप्त गर्न सकेका छैनन्, जसका कारण मैले र मेरो परिवारले कडा परिश्रम गर्न बाध्य भएका छौं,’ उनले आफ्नो फेसबुक पोष्टमा लेखेका थिए ।

यसअघि दुई महिनाअघि जुन ५ मा भर्जिनिया राज्यमा पर्ने मनासस सहरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका थिए । मनासस घटनामा पनि प्रहरीले हत्यापछि आत्महत्या भएको जनाएको थियो । प्रहरीका अनुसार मनासस घटनामा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिकाको गोली प्रहारबाटै मृत्यु भएको थियो ।

मनासस प्रहरीले घटनाबारे हालसम्म एकिन तथ्य सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेको र तथ्य प्रमाणहरु संकलन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया