पोखरा १५ असार २०८२।
एयर इन्डियाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ भेन्चर एआईएसएटीएका चार कर्मचारीलाई पदबाट बर्खास्त गरेको छ।
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको आठ दिनपछि उनीहरूले पार्टी मनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भए पछि एयर इन्डियाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ भेन्चर एआईएसएटीएका चार कर्मचारीलाई पदबाट बर्खास्त गरेको हो ।
यही जुन १२ तारिख दिउँसो एयर इन्डियाको विमान एआई १७१ भारतको अहमदाबादस्थित विमानस्थलबाट लन्डनका लागि उड्नासाथ मेडिकल होस्टेल भवनमा ठोकिँदै दुर्घटना भएको थियो। जसमा परी विमानमा रहेका २४१ जना र जमिनका पनि २९ जनाको निधन भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यसको आठ दिनपछि जुन २० तारिखका दिन एयर इन्डियाका ती कर्मचारीले गुरुग्रामस्थित कार्यालयमा पार्टी गरेको भिडिओ भेटिएको हो।
भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले त्यत्रो दु:खद् घटनाका बेला पनि यी कर्मचारीहरूले कसरी रमाइलो गर्न सकेका भनेर प्रश्न उठाएपछि एयर इन्डियाले कारबाही गरेको हो।