इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, तीन वटा परमाणु केन्द्रमा बमबारी

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, तीन वटा परमाणु केन्द्रमा बमबारी


  • एजेन्सीहरु
  • आइतबार, ८ असार २०८२
  • 4.9K
    Shares

पोखरा ८ असार २०८२।

इरान र इजरायलबीच युद्ध शुरु भएको १० औं दिनमा अमेरिकाले इरानमा आक्रमण शुरु गरेको छ। अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको छ । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।

ट्रम्पले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र एस्फहानसहित इरानका तीन आणविक साइटमा हाम्रा धेरै सफल आक्रमण पूरा गरेका छौँ।’

उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। ट्रम्पले बमको सम्पूर्ण पेलोड फोर्डोमा खसालिएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा यस्तो गर्न सक्ने अरू कुनै सेना छैन। अब शान्तिको समय आएको छ।’

इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ। यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।

उता इजरायलमा भने २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्।

केही दिनअघि मात्रै अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानले आणविक कार्यक्रम नरोके यो देशमा आफ्नो देश पनि प्रत्यक्ष संलग्न हुने योजना अनुमोदन गरेका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्प इरान मुद्दामा छलफल गर्न राजधानी वासिङ्टन डीसी पुगेका छन्। त्यहाँ उनले राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया