ट्रम्पद्वारा इरानमा आक्रमण गर्ने योजना अनुमोदन :बिनासर्त आत्मसमर्पण गर्न इरानलाई चेतावनी

ट्रम्पद्वारा इरानमा आक्रमण गर्ने योजना अनुमोदन :बिनासर्त आत्मसमर्पण गर्न इरानलाई चेतावनी


  • एजेन्सीहरु
  • बिहिबार, ५ असार २०८२
  • 4.1K
    Shares

पोखरा,५ असार २०८२।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ।

एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन्। यो समाचार पहिलोपटक वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको थियो।

यसअघि ट्रम्पलाई इरानमा अमेरिकाले सैन्य हस्तक्षेप गर्छ कि गर्दै भनेर सोध्दा उनले भनेका थिए, ‘म यसो गर्न सक्छु, नगर्न पनि सक्छु।’

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्।

ट्रम्पले इरानको फोर्डो परमाणु केन्द्रमा बंकर–बस्टर बम प्रयोग गर्ने योजना बनाइरहेको र इजरायली विमानहरूलाई तेल आपूर्ति गर्न ट्याङ्कर विमान प्रयोग गर्न सकिने बताइएको छ।

अमेरिकाले इरानको परमाणु कार्यक्रम अन्त्य गर्नु आफ्नो मुख्य लक्ष्य भएको बताएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिँदै मंगलबार राति पोस्ट गरेका थिए।

उनले लेखे, ‘अब हाम्रो इरानको आकाशमाथि पूर्ण नियन्त्रण छ। हामीलाई राम्रोसँग थाहा छ सर्वोच्च नेता (अयातोल्लाह अली खामेनी) कहाँ लुकेर बसेका छन्। उनीसम्म पुग्न सजिलो छ, तर हामी अहिले उनलाई मार्ने छैनौं।’ आफ्नो तेस्रो पोस्टमा उनले लेखे, ‘बिनासर्त आत्मसमर्पण!’

यसबिच इरानका सर्वोच्च नेता खामेनीले सामाजिक सञ्जाल एक्समा जवाफी पोस्ट गरेका छन्। उनले भने युद्ध शुरु भएको भन्दै लेखेका छन्, ‘हामीले आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ। हामी यहूदीहरूमाथि कुनै दया देखाउने छैनौं।’

पाँच दिनदेखि जारी लडाँइमा इरानमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ८१ जना घाइते भएको बताइएको छ। इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सय बढी घाइते भएका छन्।

इजरायलले यही जुन १३ बिहान इरानमा हवाई आक्रमण गरेयता दुई देशबीच हानाहान जारी छ।

प्रतिक्रिया