पोखरा, ३ असार २०८२।
इरानको सरकारी टेलिभिजन स्टुडियोमै इजरायलले आक्रमण गरेको छ । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन, इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आइआरआइबी)मा हवाई आक्रमण गरेको हो ।
लाइभ न्युज भइरहेको बेला उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । स्टुडियोमा प्रत्यक्ष प्रसारणको क्रममा धूलो र मलबा खस्दा न्युज एंकरलाई भने केही भएन । आक्रमणपछि मुख्यालयमा क्षति भएकाे आइआरआइबीले बताएकाे छ ।
आक्रमणपछि केही समयको लागि प्रसारण बन्द भएको थियो । तर च्यानलले पुनः प्रसारण सुरु गर्दै आफ्नो कार्यक्रमहरू बिना कुनै कठिनाइका साथ प्रसारण भइरहेको दाबी गरेको छ।
आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ। इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ।
अन्तर्राष्ट्रिय समुदायले यस द्वन्द्वको बढ्दो प्रभाव र सम्भावित क्षेत्रीय अस्थिरताका कारण चिन्ता व्यक्त गरेको छ।
इरानको सरकारी विवरण अनुसार शुक्रबारदेखि इजरायलद्वारा सुरु भएको हवाई आक्रमणमा अहिलेसम्म २२४ जना मारिएका छन्। इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , इजरायल र इरानबीचको तनाव चुलिँदै गएको छ। इजरायली वायुसेनाले तेहरानस्थित एक विमानस्थलमा रहेका दुई इरानी ( एफ १४) लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। इजरायलले ती विमानहरू उसमाथि आक्रमण गर्न प्रयोग हुन सक्ने भन्दै निशाना बनाएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार इजरायली सेनाले सार्वजनिक गरेको भिडियोमा ती विमानहरूमा आगो लागेको देखिन्छ। इजरायली वायुसेनाको भनाइ अनुसार, अहिले उसले तेहरानमाथि हवाई नियन्त्रण कायम गरेको छ, जसका कारण नजिकबाट आक्रमण गर्न सक्ने स्थिति बनाएको हो।
यसैबीच, इरानी राज्य सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ चरणको क्षेप्यास्त्र आक्रमण सुरु भएको जानकारी दिएका छन्। इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताइएको छ।
दुवै देशबिचको यो तनावपूर्ण स्थिति गहिरिँदै गएको छ र स्थिति थप जटिल बन्दै गएको सङ्केत देखिएको छ।