पोखरा, ३० जेठ २०८२।
इजरायली हमलामा परेर इरानी सेनाका प्रमुख र दुई वरिष्ठ परमाणु बिज्ञको मृत्यु भएको छ। इरानको आणविक कार्यक्रमसँग सम्बन्धित स्थानहरूलाई लक्षित गर्दै इजरायलले शुक्रबार बिहान इरानविरुद्ध तरीकाले शुरु गरेको श्रृङ्खलाबद्ध हवाई हमलामा परेर ईरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख हुसेन सलामी तथा दुई जना बरिष्ठ परमाणु बिज्ञको मृत्यु भएको हो।
आक्रमणका क्रममा इरानी सशस्त्र बलका प्रमुख, देशको सबैभन्दा वरिष्ठ सैन्य अधिकारी मोहम्मद हुसेन बघेरी, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डर-इन-चिफ हुसेन सलामीसँगै मारिएको स्थानीय मिडियाले जनाएको छ।
इरानी समाचार संस्थाहरूका अनुसार इजरायली हवाई आक्रमणले इरानका दुई प्रमुख आणविक वैज्ञानिक फेरेदौन अब्बासी-दवानी र मोहम्मद मेहदी तेह्रान्चीलाई पनि लक्षित गरी मारेको छ।
इरानका सर्वोच्च नेता अली खमेनीले आक्रमणको बदला लिने वाचा गरेका छन्। “यस अपराधको साथ, जियोनिस्ट शासनले आफूमाथि कटु र पीडादायी भाग्य ल्याएको छ, र यसले निश्चित रूपमा यसको सामना गर्नेछ”, उनले एक विज्ञप्तिमा भने।
इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण शुरु भएको केही समयपछि आपतकालको घोषणा गरे, र मानिसहरूलाई चेतावनी दिए कि “इजरायल राज्य र यसको नागरिक जनसङ्ख्या विरुद्ध मिसाइल र ड्रोन आक्रमण निकट भविष्यमा हुने अपेक्षा गरिएको छ”।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रलाई भने, “यो खतरा हटाउन जति दिन लाग्छ यो अपरेसन जारी रहनेछ।” उनले इजरायली बासिन्दाहरूलाई चेतावनी दिए कि उनीहरूले इरानले अपेक्षित प्रतिशोध लिनु अघि बम आश्रयमा विस्तारित अवधि बिताउनुपर्ने हुन सक्छ। तेल अवीवको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र जाने सबै उडानहरू रद्द गरिएको छ।
यसैबीच, इरानी मिडिया आउटलेटहरूले राजधानी सहर तेहरानमा धेरै जनाको मृत्यु भएको रिपोर्ट गरेका छन्। तेहरानभन्दा पर, इरानी समाचार च्यानल आइआरआइएनएनले एउटा प्रमुख आणविक सुविधाको घर नातान्ज सहरमा हवाई आक्रमण भएको रिपोर्ट गरेको छ। भारी पानीको आणविक रिएक्टर रहेको खान्डाब सहर र ब्यालेस्टिक मिसाइल आधार भएको खोरामाबादमा पनि आक्रमण गरिएको थियो।
सन् २०१० मा तेहरानमा फिरेदून अब्बासीमाथि हत्या प्रयास भएको थियो । यद्यपि उनी जोगिएका थिए ।
इजरायलले ईरानका परमाणु कार्यक्रमसँग सम्बन्धित स्थानहरू र अन्य सैनिक केन्द्रहरूमा लक्षित हमला गरेको जनाएको छ ।
ईरानी सरकारी टेलिभिजनका अनुसार, नतांज परमाणु केन्द्रमा पुनः विस्फोट भएको छ। उक्त केन्द्र तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ।
को हुन् सलामी ?
बीबीसीले इस्लामिक रिभोल्युशनरी गार्ड्सका कमाण्डर होसेन सलामी इजरायली हमलामा ज्यान गुमाउने सम्भवतः सबैभन्दा उच्चपदस्थ इरानी नेता भनेको छ ।
सलामीले सन् १९८० मा इरान–इराक युद्ध सुरु हुँदा रिभोल्युशनरी गार्ड्समा प्रवेश गरेका थिए।
उनी सैनिक पदोन्नतिक्रममा अघि बढ्दै जाँदा अमेरिकासहित उसका सहयोगीहरूप्रति दिएको कडा अभिव्यक्तिका लागि परिचित हुँदै गए।
सन् २००० को दशकदेखि इरानको परमाणु र सैनिक कार्यक्रमहरूमा संलग्नता देखाएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् र अमेरिकाद्वारा उनीमाथि प्रतिबन्ध लगाइएको थियो।
सन् २०२४ मा इरानले इजरायलमाथि पहिलोपटक सिधा सैन्य हमला गर्दा उनी नै रिभोल्युशनरी गार्ड्सका प्रमुख थिए। उक्त हमलामा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो ।
भर्खरका दिनहरूमा इजरायलसँगको तनाव उत्कर्षमा पुगेपछि सलामीले बिहीबार “इरान जुनसुकै परिदृश्य, अवस्था र चुनौतीको लागि पूर्णरूपमा तयार रहेको’ अभिव्यक्ति दिएका थिए । ‘शत्रुले इजरायली नाकाबन्दीमा परेका असहाय प्यालेस्टिनीहरूलाई जसरी लड्छ, त्यसैगरी इरानसँग पनि लड्न सकिन्छ भन्ने सोच राखेको छ,’ उनले भनेका थिए, ‘तर हामी युद्धको अनुभव भएका, परिक्षणमा परेका सैनिकहरू हौं।’