अहमदाबाद विमान दुर्घटना: दुईसय ४१ जनाको मृत्यु पुष्टि, एक यात्रु मात्र जीवित

अहमदाबाद विमान दुर्घटना: दुईसय ४१ जनाको मृत्यु पुष्टि, एक यात्रु मात्र जीवित


  • एजेन्सीहरु
  • शुक्रबार, ३० जेष्ठ २०८२
  • 9.1K
    Shares

पोखरा, ३० जेठ २०८२।


भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल दुईसय २४२ यात्रुमध्ये दुईसय ४१ जनाको मृत्यु पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्।

एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दुर्घटनामा परेको आफ्नो उडान नम्बर एआईआई७१ मा सवार कुल दुईसय ४२ यात्रुमध्ये दुईसय ४१ जनाको मृत्यु भएको पुष्टि भएको र एक मात्र जीवितको उपचार भइरहेको जानकारी दिएको हो।

मृतकमा चालक दलका १२ सदस्य छन् भने यात्रु दुईसय २९ जना छन्।

एयर इन्डियाका अनुसार मृतक यात्रुहरूमा एकसय ६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन्।

दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन्। अहिले उनी अस्पतालमा उपचार गराइरहेका छन्।

विमान खसेर भीषण आगलागी भई टुक्राटुक्रा हुँदा पनि उनी बाँच्नुलाई धेरैले चमत्कार ठानेका छन्। त्यसो त उनी आफैँ पनि आश्चर्यमा परेका छन्। विमानको सिट नम्बर ११ ए मा बसेका उनको भिडिओ सार्वजनिक भएको छ।

भारतीय मूलका बेलायती नागरिक रमेशले भनेका छन्, ‘विमान विस्फोट भयो, म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन। उडेको ३० सेकेन्डपछि नै विमान दुर्घटना भयो। जब म होसमा आएँ, मेरा वरिपरि केवल शवहरू थिए। मलाई कसैले उठायो र एम्बुलेन्समा राख्यो। मेरो भाइ पनि मसँगै विमानमा यात्रा गरिरहेको थियो।’

एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विमान उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो।’ विमान बिहीबार दिउँसो १:३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाटबाट उडेको २ मिनेटमै खसेको थियो।

प्रतिक्रिया