पोखरा, ८ जेठ २०८२।
भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा भारतीय कम्युनिष्ट पार्टी माओवादीका महासचिव बसवराजको हत्या भएको छ। भारतीय सुरक्षा बलको टोलीले महासचिव बसवराजको हत्या गरेको हो । अद्यापि भारतीय सुरक्षा बलले आफूहरुसंगको भिडन्तमा महासचिव बसवराजसहित २६ जना नक्सलवादी मारिएको दाबी गरेको छ।
छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको उल्लेख गर्दै छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मूठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे ।
उता, छत्तीसगढकै सुरक्षा बलहरूले भने बुधबार २७ जना माओवादी मारिएको दाबी गरेका छन् । भारतीय प्रहरीका अनुसार बस्तर सम्भागअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा जारी भिडन्तमा ती माओवादीहरू मारिएका हुन्।
यी कारबाहीमा भारतको माओवादी आन्दोलनका शीर्ष नेता बसवराजुको पनि मृत्यु भएको भारतका गृहमन्त्री अमित शाहले पुष्टि गरेका छन् ।
उनले बुधबार एक ट्वीट गर्दै लेखेका छन्, ‘नक्सलवाद अन्त्य गर्ने संघर्षमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। आज, छत्तीसगढको नारायणपुरमा भएको एक अपरेशनमा हाम्रो सुरक्षा बलले २७ जना खतरनाक माओवादीलाई मार्न सफल भएका छन्, जसमा सीपीआई–माओवादीका महासचिव, शीर्ष नेता र आन्दोलनका मेरुदण्ड नंबाला केशव राव उर्फ बसवराजू पनि छन्।’
उनले अगाडि थपेका छन्, ‘नक्सलवादविरुद्ध भारतको तीन दशक लामो संघर्षमा पहिलो पटक सुरक्षा बलले महासचिव स्तरको माओवादी नेतालाई मार्न सफल भएको हो। म यो ठूलो सफलताका लागि हाम्रा बहादुर सुरक्षाकर्मीहरू र एजेन्सीहरूको प्रशंसा गर्छु।’
शाहले उल्लेख गरेअनुसार, ‘ब्ल्याक फरेस्ट’ नामक अपरेशन पूरा भएपछि छत्तीसगढ, तेलंगाना र महाराष्ट्रमा ५४ जना नक्सली पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेका छन्।
अघिल्लो साता सकिएको २१ दिन लामो अपरेशनमा ३१ जना माओवादी मरेको खबर छ। र अहिले नारायणपुरको भिडन्तमा २७ जना माओवादी मरेको दाबी गरिएको छ।
१७ अप्रिलदेखि ८ मेसम्म चलेको अपरेशनलाई माओवादीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेशन भनेर उल्लेख गरिएको छ।
केन्द्रीय र राज्य सुरक्षाबलहरूको आकलनमा, कर्रेगुट्टालु क्षेत्रका पहाड, खोँच र गुफाहरूमा ठूलो संख्यामा माओवादी लुकेका थिए, त्यसैले हजारौँ सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको थियो।
यस अपरेशनमा दुई सय १४ माओवादी अड्डा र बंकरहरू ध्वस्त, ४०० भन्दा बढी आईईडी, ठूलो संख्यामा विस्फोटक सामग्री र १२ हजार किलोभन्दा बढी खाद्यान्न बरामद गरिएको दाबी गरिएको छ।
यसै क्रममा प्रहरीले सन् २०२५ को पहिलो चार महिनामा ७०० भन्दा बढी माओवादीले आत्मसमर्पण गरेका जिकिर गरेको छ । यी तथ्यांकहरूले माओवादी आन्दोलन सन् १९७० पछि आफ्नो सबैभन्दा कमजोर चरणमा पुगेको संकेत गर्छ ।
अब्बल गुरिल्ला हुँदै पार्टी नेतृत्व कब्जा
सन् १९९२ मा पिपुल्स वारको केन्द्रीय समिति गठनको निर्वाचनमा उनी केन्द्रीय सदस्य चुनिए । सोही बेला उनका साथी मुपल्ला लक्ष्मण राव उर्फ गणपति समितिका सचिव बनेका थिए ।
उनको पार्टीभित्रको प्रभाव क्रमशः बढ्दै गयो। उनले विभिन्न क्षेत्रहरूमा छुट्टाछुट्टै साना–ठूला नक्सली समूहहरूलाई एकीकरण गर्न थाले । सन् २००४ मा भाकपा (माओवादी) गठनमा उनको पनि महत्वपूर्ण भूमिका रह्यो ।
पार्टीको सैन्य कमिटी अर्थात् सीएमसीको उनले नेतृत्व सम्हाले ।गुरिल्ला नक्सलीहरूलाई छापामार हमलाको तालिम दिनु र अपरेशनको योजना बनाउनु उनको काम थियो।
गणपति र बसवराजू भारतमा माओवादी आन्दोलनका दुई प्रमुख नाम थिए। गणपति वैचारिक मोर्चामा सक्रिय थिए, भने बसवराजू कारबाहीका मोर्चामा। सन् २०१३ मा प्रतिबन्धित पत्रिका पिपुल्स वारमा लेखेका थिए, ‘यदि हामी हाम्रो देशमा भूमिसम्बन्धी समस्याको पूर्ण समाधान गर्न किसानहरूलाई ठूलो मात्रामा र क्रान्तिकारी ढंगले सशस्त्र कृषि क्रान्तिमा संगठित गर्न सक्यौं भने, हामी हाम्रा सबै दुश्मनहरूलाई हराउने र नयाँ जनवादी क्रान्ति पूरा गर्ने आधारभूत शर्तहरू पूरा गर्न सक्नेछौं।’
बसवराजू किसान र मजदूरहरूलाई हातहतियार उठाउन आह्वान गरिरहेका थिए । छत्तीसगढमा सरकारी आक्रमणको प्रतिरोध गर्नेक्रममा सन् २०१७ मा उनी पार्टीमा हाबी हुन थाले र सन् २०१८ मा त उनी महासचिव नै बने । भारतीय सञ्चार माध्यमका अनुसार उनी वैचारिक नेता, सैन्य नीति निर्माता र सशस्त्र संघर्षका योजनाकार थिए । पार्टीका लागि देशभर सशस्त्र युनिटहरू सञ्चालन गर्ने सेन्ट्रल मिलिटरी कमिसनका उनी महत्वपूर्ण हिस्सा थिए ।