चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन

चैत ३ भित्रै स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० फाल्गुन २०७३
  • 10K
    Shares

निर्वाचन आयोग

निर्वाचन आयोगले ७ वटै ४४ स्थानीय तहमा चैत ३ भित्र कार्यस्थलमै पुग्ने गरी तत्काल कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले वैसाख ३१ मा हुने चुनावका लागि स्थानीय तहमा अनिवार्य रूपमा कर्मचारी आवश्यक पर्ने उल्लेख गर्दै चैत ३ भित्र कार्यस्थलमा पुग्ने गरी कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको खबर आजको कान्तिपुरमा छ ।

७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आउनुअघिका २ सय १७ नगरपालिका (महानगरपालिका र उपमहानगरपालिकासमेत) मा मात्र कार्यकारी अधिकृतसहितका कर्मचारी छन्, बाँकी ४ सय ८१ गाउँपालिकासहित ५ सय ३३ वटा स्थानीय तहमा कर्मचारी छैनन् । कर्मचारी नभएकाले बहुसंख्यक स्थानीय तहमा कामै सुरु हुन सकेको छैन ।

आयोगका पदाधिकारीले मुख्यसचिव सोमलाल सुवेदी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसित आइतबार छलफल गरी स्थानीय तहको चुनावको प्रक्रिया अघि बढाउन कर्मचारी आवश्यक पर्ने भएकाले तत्काल खटाउन निर्देशन दिएको हो ।

आयोगले निर्वाचनसम्बन्धी कार्य गर्न प्रत्येक स्थानीय तहमा कायममुकायम वा निमित्त मुकरर गरी आयोगलाई जानकारी दिन स्थानीय विकास मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । आयोगले सामान्य र स्थानीय विकास मन्त्रालयलाई आपसमा समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन भनेको छ ।

आयोगले स्थानीय तहमा सम्भव भएसम्म सम्बन्धित सेवा–समूहका स्वीकृत दरबन्दीबमोजिमका कर्मचारी खटाउन र नभएमा मात्र अन्य उपयुक्त सेवा–समूहबाट व्यवस्थापन गर्नसमेत निर्देश गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन अवधिभर चुनाव सम्पन्न गराउने कार्यमा संलग्न हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा नखटाउनसमेत निर्देशन दिएको छ ।

‘कुनै पनि मन्त्रालय, निकाय र विभागबाट गोष्ठी, तालिम, सेमिनार आदि सञ्चालन गर्ने, तर एकै जिल्लाभित्रका कर्मचारीहरू सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम सञ्चालन गर्नुपरेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सञ्चालन गर्न सकिनेछ’ आयोगको लिखित निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया