भारतले उडाएको ‘भू-उपग्रह’ नेपाली भूमिमा खस्यो

भारतले उडाएको ‘भू-उपग्रह’ नेपाली भूमिमा खस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ बैशाख २०७३
  • 11.3K
    Shares

भारतले उडाएको एउटा शंकास्पद उपकरण मंगलबार नेपाली भूमिमा दुर्घटनाामा परेको छ । भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह  अछाममा दुर्घटनामा परेको हो । भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको सानो आकारको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा आइतबार दुर्घटनामा परेको हो ।
बलाता–५ भिमडका चेतमानसिंह थापाले घर नजिकै शंकास्पद बस्तु खसेको खबर गरेपछि सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतबाट उडाइएको भू–उपग्रह भएको निष्कर्ष निकालेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी चौकी ढकारीका प्रहरी सहायक निरीक्षक परी बोहराको नेतृत्वमा गएको टोलीले भारतबाट अत्याधुनिक बेलुनमार्फत उडाइएको भू–उपग्रह  फेला परेको पुष्टि गरेको छ ।
भू–उपग्रहमा लेखिएको सूचनाका आधारमा भारतको नैनीतालबाट यसलाई उडाइएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी निरञ्जन भट्टले पनि भारतीय भू–उपग्रह नेपाली भूमिमा खसेको पुष्टि गरेका छन् । उनका अनुसार यो भू–उपग्रह मौसमसम्बन्धी परीक्षणका लागि उडाइएको अनुमान गरिएको छ । प्रहरीका अनुसार उत्तराखण्ड राज्यको नैनीतालबाट यो भू–उपग्रह उडाइएको पत्ता लागेको छ।
 ‘यो पूर्णरुपमा सुरक्षित छ । यस यानलाई मौसम परीक्षणका लागि उडाइएको हो’, यसमा रहेको सूचनामा भनिएको छ, ‘पाउनुहुने महानुभाबले डा. मनिश नजा र श्री आशिस कुमारलाई खवर गर्नुहोला । पुरस्कारको ब्यवस्था गरिएको छ ।’
यो सूचना भारत सरकारको विज्ञान एवम प्रौद्योगिक विभागद्वारा हिन्दीमा लेखिएको छ । यो सूचनासमेत दुर्घटनाग्रस्त भू–उपग्रहसँगै फेला परेको छ । दुर्घटनाग्रस्त मानवरहित साना भू–उपग्रह दुर्घटनामा परेपछि जलेर टुक्रा टुक्रा अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ । भारतले उडाएर नेपाली भूमिमा दुर्घटनामा परेको सो भू–उपग्रह प्रहरी चौकी ढकारी ल्याएर राखिएको छ ।

प्रतिक्रिया