बाँके, बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।
दुई छोरी र एक छोरा गरि तीन सन्तानकी आमा सुनिताको अहिलेसम्म न बिवाह दर्ता नै छ न बच्चाहरुको जन्म दर्ता नै बनेको छ ।
‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु । श्रीमानलाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।’
राँझास्थित आफ्नो दिदीसँग बस्दै आएकी सुनितालाई छोराछोरीको चिन्ताले सताउँछ ।
उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन्।
अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन्। ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ? भन्दै घर फर्किनुहुन्छ ।’
बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन्। बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ । वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए।
श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए।