सापटी दिएको दश हजार रुपियाँ फिर्ता नदिदॉ पोखराकी एक महिलाको तनहुँमा हत्या भएको छ। सापटी दिएको दश हजार रुपियाँ फिर्ता नदिए पछि पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको तनहुँमा हत्या गरिएको हो। उनको शब गत चैत १२ गते तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरि स्थित पिपलटार खानेपानी ट्याङ्कीमा सडेगलेको अवस्थामा फेला पफ्रेको थियो।
श्रेष्ठको हत्या गरेको आरोपमा काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने घारीपाटन बस्ने ३५ वर्षीय चित्र नामले चिनिने प्रकाश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । निज अभियुक्तलाई बिहीबार शुक्लागण्डकी नगरपालिका–१ थप्रेकबाट पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
प्रहरीका अनुसार, निज अभियुक्तले गत फागुन २१ गते ट्याङ्की नजिक महिलाको टाउकोमा इट्टाले हानी कर्तव्य गरी शव खानेपानी ट्याङ्कीमा फालेका थिए । महिलाको शव गत चैत १२ गते ट्याङ्कीभित्रबाट फेला परेको थियो । स्थानीय उपभोक्ताका घरघरमा लगिएको खानेपानीमा गन्ध आएको गुनासो आएपछि ट्याङ्की खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । मृतक महिलाको कानको लोती च्यातिएको, घाँटीमा रातो डाँम देखिएको र निधारमा काटिएको जस्तो घाउचोट देखिएको प्रहरीले जनाएको छ ।
मृतक महिला र अभियुक्त सुनारबीच विगत दुई वर्षदेखि चिनजान रहँदै आएकोमा सुनारले मृतक महिलालाई रु दश हजार सापटी दिएको र सुनारले उक्त पैसा फिर्ता माग्दै आएका थिए । महिलाले छोरा बिरामी भएको र अहिले पैसा नभएको र पछि दिने भन्दै आनाकानी गरिरहेको अनुसन्धानबाट देखिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
फागुन २१ गते निज महिला र अभियुक्त सुनार पोखराबाट तनहुँको थर्पु आएको खुलेको छ । महिलाले थर्पुमा एक व्यक्तिसँग पैसा लिएर सुनारलाई दिन्छु भनेपछि उनीहरु सँगै आएको र सोही राति अभियुक्त सुनारले महिलाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
निज अभियुक्तले मृतक महिलाको सुन पोखरामा लगेर विक्री गरेका थिए । सोही घटनामा अभियुक्तले सुन बेचेको पसलका सञ्चालक पोखरा महानगरपालिका वडा नम्बर २ २ अर्चलकोट घर भई पोखरा महानगरपालिका वडा नम्बर ४ मा महेन्द्रपुलमा रजनी सुनचाँदी पसलका सञ्चालक ४० वर्षीय रविनकुमार गहतराजलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
“गहना तथा नगद समेत लुटपाट गरेको देखिन आएकाले घटनामा संलग्न व्यक्ति पहिचानका लागि अनुसन्धान टोली विभिन्न ठाउँमा खटिएको थियो,” प्रहरी उपरिक्षक विष्टले भने, “घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” निज अभियुक्तले एक्लैले महिलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । “हालसम्मको अनुसन्धन हेर्दा सापटी दिएको रु दश हजार फिर्ता माग्दा हत्या भएको जस्तो देखिएको छ,” विष्टले भने ।
निज महिला पोखरा अमरसिंह चोकमा फलफूल तथा बदाम पसल सञ्चालन गर्दै आएकी थिइन् । विसं २०७९ फागुन २१ गते पोखराको अमरसिंहचोकबाट हराएको भन्दै छोरा २० वर्षीय मनिष श्रेष्ठले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए ।
निजको श्रीमान् विगत तीन वर्ष अघिदेखि नै मृत्यु भइसकेको थियो । छोरा पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारामा बस्दै आएका थिए ।