जनकपुरधाममा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का गम्भीर घाइते

जनकपुरधाममा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०८३
  • 38
    Shares

जनकपुरधाम २३ असोज २०८३।

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५, सोनारपट्टीस्थित दाहा चोकका २४ वर्षीय आमिन साफी रहेका छन्। घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार पुरानो रिसइबीका कारण उत्पन्न विवादमा २२ वर्षीय मोहम्मद इर्साद खानले आमिन र इम्तियाजमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट दुवैको छाती र पेटमा चोट लागेको थियो।

गम्भीर घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ आमिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

घटनामा गम्भीर घाइते भएका इम्तियाजको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गरेको आरोपमा प्रहरीले मोहम्मद इर्साद खानलाई पक्राउ गरेको छ। घटनाको कारण तथा अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार