आज नेपालि बजारमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च रहेको छ ।
शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ। राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ।
भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर हुनजान्छ । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको हुनाले नेपालि मुद्राको विनिमय स्थिति यस्तो अबस्थामा पुग्ने गर्छ ।
भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर भइरहेको हो। डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको ग्राफ पनि ८.२६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ। डलर महंगो बने पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ। कच्चा तेलको मूल्य ब्यारेलको ८० डलर नजिक आएको छ।