पोखरा महानगरपालिकाको लेखनाथस्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर रकम चोरी गरेको ठिक महिना पछि लेखनाथ क्षेत्रबाटै एक जना पक्राउ परेका छन्।
गएको साउन २ गते भएको उक्त एटिएम चोरी काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले ठिक एक महिनापछि बुधबार प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३१ रयाले घर भएका अन्दाजी वर्ष ५० का अनिश तामाङलाई पक्राउ गरेको हो। उनलाई पोखरामा रहेका प्रहरी युनिटका घुमुवाहरुको संयुक्त टोलीले लेखनाथको डुंडाकोमुखबाट पक्राउ गरेको एक बिस्वस्त समाचार स्रोतले जानकारी दिएको छ। अद्यापि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले उक्त घटनामा एक जना पक्राउ परेको पुष्टि गरे पनि घटनाको अनुसन्धान कारबाही जारी रहेकाले अरु विवरण दिन नमिल्ने बताए।
प्राप्त समाचार अनुसार, मादक पदार्थ सेवन गरेर मातिएका अभियुक्त तामाङले लेखनाथका एक शिक्षकको मोटरसाइकल चोरी गरेर उक्त घटनामा प्रयोग गरेका थिए। एटिएम मेशिन कसरी फोड्ने भन्ने बारेमा युट्युबबाट सिकेका अभियुक्त तामाङले बैंकका कर्मचारीको कमजोरीको फाइदा उठाएर सजिलै एटिएम मेशिन फोडेको समाचारस्रोतको दाबी छ। एटिएम मेशिनको सुरक्षात्मक उपाय अपनाउन खटिएकी बैंककी महिला कर्मचारीले पूर्ण रुपमा बिधि पुरा नगरेको देखिएको प्राप्त समाचारमा जनाइएको छ।
यता एक महिना लगाएर मुस्किलले पक्राउ परेका अभियुक्त तामाङको साथबाट प्रहरीले चोरी भएको रकम भने बरामद गर्न नसकेको प्राप्त समाचारमा जनाइएको छ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्त तामाङले युट्युबबाटै एटिएम फोडेर झिकिएको बाकस खोल्ने बिधि सिकेको जानकारी दिएका छन्। उनले आफुले चोरी गरेको रकममध्ये झन्डै तीन लाख ५० हजार रुपियाँ बराबरको crux fire bike किनेको र बाँकी रहेको रकम लेकसाइडका डिस्को र दोहोरी चहारेर सकेको प्रहरॆसमक्ष बताएका छन्। अद्यापि उनले बाँकी रकम के गरे भन्ने बारेमा अझै खुल्न नसकेको समाचारस्रोतको दाबी छ।
उनी कसरी पक्राउ परे भन्ने बारेमा एकिन विवरण प्राप्त हुन सकेको छैन। तर यसभन्दा अघि वडा प्रहरी कार्यालय बैदाम पोखरामा घुमुवा काम गर्ने र लेकसाइडका होटल तथा दोहोरी-डिस्कोमा बिबादास्पद कार्य गरेको आरोप लाग्ने गरेका एक जना जुनियर अधिकृतको सुराकको आधारमा उनी पक्राउ परेको समाचारस्रोतले बताएको छ।