सिंहदरबारले आफ्ना पीडाहरु नसुने पछि नवलपरासीको प्रतापपुरका मीटरब्याज पिडित १० दिनदेखि फेरी धर्ना दिदै

सिंहदरबारले आफ्ना पीडाहरु नसुने पछि नवलपरासीको प्रतापपुरका मीटरब्याज पिडित १० दिनदेखि फेरी धर्ना दिदै


  • जन संचार
  • शुक्रबार, २७ साउन २०७९
  • 3.8K
    Shares

आफ्ना पीडाहरु सिंहदरबारले नसुने पछि नवलपरासी प्रतापपुर गाउँपालिका– ९ का खुँखार साहुकार ५५ वर्षीय जगदीश बानियाँ र उनको परिवारले उठीबास लगाएका पीडितहरू आँसु झार्दै काठमाण्डौको माइतीघर मण्डलामा १० दिनदेखि धर्ना दिई रहेका छन्।

असार १३ गते गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलको उपस्थितिमा “दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने” सहमति भएको थियो। तर अहिलेसम्म खुँखार साहुकार जगदीश बानियाँ र उनको परिवारलाई अझैसम्म प्रहरीले पक्राउ गरेको छैन।

गृहसँगको सम्झौतापछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजी जगदीश र उनका भाइ सुरेश बानियाँलाई पक्राउ गर्‍यो । हिरासतमा राख्यो । जगदीश र उनको परिवारबाट शोषणमा परेका पीडित क्रमशः जिप्रका आउँदै थिए । तर, प्रहरीले जगदीश र सुरेशलाई २१ दिनमा हिरासतमुक्त गरिदियो ।

गाउँमा जगदीश परिवारबाट मात्रै पीडित पाँच सयभन्दा धेरै छन् । कागजात लिएर पीडित प्रहरी कार्यालय आउँदै थिए । तर, प्रहरीले सबै पीडितको समस्या हेर्दै नहेरी जगदीश दाजुभाइलाई छाडिदियो ।

तर, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सहमतिअनुसार साहुकारलाई पक्राउ गरिएको र २० वटा तमसुक पनि च्यातिएको बताए । उनले भने, ‘गृहसँगको सम्झौताअनुुसार नै हामीले दुई साहुकारलाई पक्राउ गर्‍यौँ । २१ दिन थुन्यौँ । २५ जना पीडित हामीकहाँ आएका थिए । २० वटा तमसुक च्यात्यौँ । त्यसपछि छाडेका हौँ ।’

यता गृह सहप्रवक्ता वसन्त भट्टराई भने साहुकारपीडितसँग गृहले कुनै लिखित सम्झौता नगरेको, तर समस्याप्रति जानकार रहेको बताए । उनका अनुसार साहुकारसँगको लेनदेनबारे पीडितसँग प्रमाणका लागि आवश्यक कागजात नभएको हुँदा समस्या समाधान गर्न गाह्रो छ । ‘साहुकारपीडितबारे गृह जानकार छ । केही हप्ताअघि गृहमा केही पीडित आएका थिए । वार्ता पनि भएको हो । समस्या समाधान गर्ने भनेका हौँ । तर, लिखित सम्झौता गरिएजस्तो लाग्दैन । यद्यपि, पीडित पीडित नै हुन् । समस्या समाधान गर्न गृह तत्पर छ ।’

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज असुल्ने साह र पत्नी मञ्जु देवीसमेतलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

साउन २० गते दर्ता भएको मुद्दामा साहविरुद्ध तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ र पत्नी मञ्जुविरुद्ध ६५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ गरी कुल तीन करोड ८६ लाख ५८ हजार बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण कानुनअनुसार बिगोको दोब्बर जरिवानासमेत माग दाबी विभागले गरेको छ ।

साहले गाउँका विपन्नलाई आफू, पत्नी, छोरा–बुहारी, छोरी–ज्वाइँका नाममा ऋण लगानी गर्ने, त्यसको चक्रवर्ती ब्याज असुल गर्ने गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । साहले एउटै ऋणमा ऋणीका आफन्त, नातागोतासमेतलाई झुक्याएर किर्ते तमसुक गराउने, ऋण लिएभन्दा पाँच गुणासम्म बढाएर कागजपत्र बनाउने, तिरेको ऋणको निस्सा नदिएर ऋण कायम गर्नेजस्ता ठगी गरेको विभाग बताउँछ । उनीविरुद्ध विभागले २५ पृष्ठको अभियोग अदालतमा पेस गरेको छ ।

साहविरुद्ध सर्लाही प्रहरीले यसअघि नै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा चलाइसकेको छ । त्यसमा सम्पत्ति शुद्धीकरणसमेत गरेको देखिएपछि प्रहरीले उक्त कसुरमाथि अनुसन्धान गर्न विभागलाई सूचना प्रवाह गरेको थियो । उजुरीउपर साहमाथि विभागले दुई वर्ष लामो छानबिन र अनुसन्धान गरेको छ । साह भने ठगी मुद्दामा अहिले पनि जेलमा छन् । सोझा जनतालाई ऋणको पासोमा पार्ने उनी अब कसुर प्रमाणित भए सम्पत्ति शुद्धीकरणको कडा कानुनअनुसार अरू अधिकतम १० वर्ष जेल बस्नुपर्नेछ ।

विभागले अदालतमा दर्ता गरेको अभियोगपत्रअनुसार साहले गाउँका ४८ जनालाई एक करोड एक लाख ९२ हजार ऋण लगानी गरेका थिए । उक्त रकम ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ गरी एक करोड ५३ लाख ३१ हजार अतिरिक्त आर्जन गरेको आरोपपत्रमा उल्लेख छ । ऋण लगानी र त्यसबाट गरेको ठगीसमेत जोड्दा आउने दुई करोड ५५ लाख २३ हजार तथा त्यसैबाट जोडेका अन्य चलअचल सम्पत्तिसमेतको कुल तीन करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ साहले सम्पत्ति शुद्धीकरण गरेको विभागको ठहर छ । यही रकमलाई बिगो कायम गरेर विभागले साहविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को व्यवस्थाबमोजिम मुद्दा दायर गरेको हो ।

पत्नी मञ्जुको हकमा भने उनको नामको घरजग्गातर्फ लगानी मूल्यांकन र बैंकको मौज्दातसमेत गरी ६५ लाख ६५ हजार तीन सय ५५ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्थाअनुसार बिगोका अतिरिक्त जरिवाना, सम्पत्ति जफत र कैद सजाय मागको दाबी गरिएको छ ।

प्रतिक्रिया