बराह सहकारीको सम्पत्ति तथा प्रोजेक्टहरु रोक्का गर्न सिफारिस

बराह सहकारीको सम्पत्ति तथा प्रोजेक्टहरु रोक्का गर्न सिफारिस


  • जन संचार
  • सोमबार, १६ साउन २०७९
  • 5.4K
    Shares

धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक, कर्मचारी र लगानी भएको विभिन्न ११ वटा प्रोजेक्टको बैंक खाता र सम्पत्ति रोक्का गर्न छानबिन समितिले सिफारिश गरेको छ ।

धरानका मेयर हर्क साम्पाङले गठन गरेको अधिकार सम्पन्न छानबिन समितिको आइतबार उपमहानगरपालिकामा बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

बराह सहकारीका पीडितहरुकै माग वमोजिम छानबिन समितिको बैठकले यो निर्णय गरेको र निर्णय सोमबार मालपोत कार्यालय, सम्बन्धित बित्तिय संस्था तथा बैंकहरुमा पठाइने छानबिन समितिकी सदस्य सचिव हेमा थलङले जानकारी दिइन् ।

उनका अनुसार सहकारी ऐनको दफा ६२ वमोजिम सहकारीका सञ्चालक, कर्मचारीहरुको बैंक खाता, विभिन्न ११ वटा प्रोजेक्टको नामको खाता र स्थित सम्पत्ति रोक्का गर्न सिफारिश गर्ने निर्णय भएको हो । बराहको सहकारीबाहेक पनि बराह ज्वेलरी, बराह डिपार्टमेन्ट, बराह कृर्षि उपज तथा पशुपालन, बराह फेमिली किचन, बराह मल्टिप्रपोज कम्पनीलगायत ११ वटा व्यवसायिक प्रोजेक्टहरु छन् । यस्तै, विभिन्न वित्तिय संस्थाहरुमा सेयर पनि छन् । ती सबैको बैंक खाता तथा स्थिर सम्पत्ति रोक्का गर्न सिफारिश गर्ने निर्णय छानबिन समितिले गरेको हो ।

आइतबार सोही छानबिन समितिको बैठक बस्ने क्रममा सहकारी पीडितहरुले मेयर, उपमेयर ढिला आएको भन्दै उपमहानगरपालिका तनावग्रस्त बनेको थियो । पीडितहरुले मेयर हर्क साम्पाङले “मलाई सोधेर पैसा राखेको हो र ?” भन्ने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए । यो स्थितिकै बीचमा पनि छानबिन समितिले बैंक खाता, स्थिर सम्पत्ति रोक्न पत्राचार गर्ने निर्णय गरेको हो ।

बराह सहकारी प्रकरणमा उपमहानगरपालिकाले भक्तिराज शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा न्यायिक समितिका जर्नादन शर्मा सदस्य छन् भने सदस्य सचिवमा हेमा थलङ छिन् । आमन्त्रित सदस्यमा प्रदेश सहकारीका रजिष्ट्रार र संघीय सहकारी विभाग सदस्य राखिएको छ ।

प्रतिक्रिया