काठमाडौंको तीनकुने गैरिगाउँमा चिनियाँ नागरिकले संचालन गरेको अवैध कल सेन्टरमा छापा मारेर प्रहरीले एक चिनियाँ नागरिक र दुई भारतीय सहित ४१ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १४ महिना र २७ पुरुष छन् । उनीहरुमध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ । प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा अवरोध गर्न खोज्ने ८ महिलालाई गौशाला लगिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौ
रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधी गरिरहेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाण्डौ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी बृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीद्वारा निम्न लिखित ब्यक्तिहरुलाई निम्न परिमाणका बिद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको ।
निम्न:
क) पक्राउ परेका ब्यक्तिहरु:
१. HU Yuehua वर्ष ४३ चिनियाँ नागरिक Management Head of Sky World Service Centre ।
२. मनोज शैनी वर्ष २६, भारतीय नागरिक, उत्तर प्रदेश ।
३. नेहा गुप्ता वर्ष १९, भारतीय नागरिक, उत्तर प्रदेश ।
४. नेपाली नागरिक पुरुष- २८ जना र महिला-५ समेत गरी जम्मा -३३ जना ।
ख) नियन्त्रणमा लिइएका दशी (बिद्युतीय उपकरणहरु) :
१. नगद रू. ८,२९,०००।–( अक्षरेपी आठ लाख उन्नन्तीस हजार मात्र)
२. ल्यापटप थान-३६२ ।
३. डेस्कटप कम्प्युटर थान-७४८ ।
४. डिभिआर-१ ।
प्रकरण ख) मा बरामद दशीका सामानसहित प्रकरण क) मा पक्राउमा परेका ब्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भई रहेको ।
उनीहरुले स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेका थिए । उक्त कम्पनीको नामबाट साइबर अपराध भइरहेको सूचनाको आधारमा सोमबार काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो ।
यो कम्पनीमा प्रहरी टोली ६ महिनाअघि पनि पुगेको थियो । प्रहरी स्रोतका अनुसार कल सेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएपछि कर्मचारीले प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । त्यसक्रममा प्रहरी वृत्त, गौशालाको टोली गैरिगाउँस्थित कार्यालयमा पुगेको थियो ।
‘सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि सबैको मोबाइल जफत गरेछन्’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘मोबाइल सञ्चालकले खोसेपछि कर्मचारी र सञ्चालनबीच झगडा भयो । विवाद बढेपछि प्रहरीलाई पनि त्यहाँ बोलाइएको थियो ।’तर प्रहरीले त्यसबेला छलफल गरेर छाडेको थियो ।
आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि छापा हानेको थियो । त्यसक्रममा ७ जना महिला कर्मचारीहरुले प्रहरीको सर्च अपरेशनमा अवरोध गर्न खोजेका थिए । अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।