बुटवलस्थित सुनचाँदी पसलमा साढे तीन करोडको सुन चोरी काण्डमा संलग्न तीन जना भारतीय पक्राउ

बुटवलस्थित सुनचाँदी पसलमा साढे तीन करोडको सुन चोरी काण्डमा संलग्न तीन जना भारतीय पक्राउ


  • जन संचार
  • बुधबार, २८ बैशाख २०७९
  • 6.3K
    Shares

दुई हप्ताअघि बुटवलस्थित गुल्मेली मजुवा सुनचाँदी पसलमा साढे तीन करोडको सुन चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

उक्त चोरी काण्डमा सहभागी मुख्य योजनाकार भारत लखनउका ३५ वर्षीय मोहद जिशान खान, २२ वर्षीय मोहम्मद सरिक र ३६ वर्षीय मोहसिन अब्दुल्ला खानलाई प्रहरीलाई पक्राउ गरेर आज प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, लिफ्ट जडान/मर्मत गर्ने मिस्त्री काम गर्ने मोहद जिशान तथा मोहम्मद सरिक र खाने पानी सप्लार्यसको काम गर्ने मोहसिन अब्दुल्ला खानले व्यापारमा घाटा भएपछी लागेको ऋण चुक्ता गर्न सुन पसल डाँका मार्ने योजना बनाएका थिए। काठमाण्डौमा डाँका मार्दा भाग्न नसकिने भएपछी उनीहरुले बुटवलस्थित गुल्मेली मजुवा सुनचाँदी पसललाई डाँका मार्ने योजना बनाएका थिए। सोही योजना बमोजिम उनीहरुले सुन पसल छेउको सटर कपडा पसल चलाउनका लागि भाडामा लिए। मासिक ३० हजार भाडा तिर्ने गरी चार वर्षका लागि तीन लाख ६० हजार रुपैयाँ अग्रिम भुक्तानी दिएर घरधनीलाई विश्वासमा लिए। एकै पटक रकम भुक्तानी गर्दा छिमेकको सुन पसलधनी पनि विश्वासमा देखिए। चैत ७ गते देखि आफूहरु बुटवल कायरा होटलमा बस्न थाले। सटर भाडामा लिएर प्रयोग गर्नुका साथै भारतसमेत आउजाउ गरे।

उनीहरुले आफ्नो योजना बमोजिम निर्वाचन माहोलको मौका छोपेर उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन उक्त सुन पसलबाट तीन करोड ५० लाख बराबरको सुन चोरी गरेर भागेको देखिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले जानकारी दिए।

चोरीको योजना सफल पार्न उनीहरुले ग्याँस सिलिण्डर, ग्याँस कटरलगायतका साम्रगी पहिल्यै ल्याएर कोठामा राखेका थिए। चैत १३ गते राति करिब २ बजे सुन पसलको सेफ (तिजोरी) रहेको सटरको ताल्चा फोडे र ग्याँस कटर भित्र छिराएर सटर बन्द गरे। भित्र गएर सेफलाई ग्याँस कटरले काटे। सेफ र पसलमा रहेको सुन तथा नगद रुपैयाँ चोरी गरेर निस्किए। चोरीको घटनाबारे रातभर कसैलाई जानकारी भएन। चोरी गरेर बास बसेको होटल गई बिहानको समयमा होटलको कोठा चेक आउट गरि फरार भए। बिहान पसलधनी पसल खोलेपछि मात्र सुन चोरी भएको घटना थाहा भयो। सुन चोरी गरेर उनीहरु फरार भएपनि उनीहरुको हुलिया सिसिटिभी फुटेजमा कैद हुन पुग्यो।

तीनै जनालाई बैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–४, महुवारीस्थित खुनगाई–कालीदह सडकखण्डमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको उनको भनाई छ।

प्रहरीले उनीहरु सवार युपी ३२ एल डब्लु ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एक थान बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुई थान १०/१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको छ। यस्तै, ३ थान मोबाइल, ६ हजार भारतीय रुपैयाँ, आधार कार्ड र एटीएम कार्ड पनि उनीहरुको साथबाट बरामद गरिएको डिएसपी पौडेलले बताए।

प्रतिक्रिया