विप्लव माओवादीले चैत २४ देखि प्रतिरोध संघर्ष शुरु गर्ने, पार्टीमा व्यापक जिम्मेवारी हेरफेर, उपब्यूरो खारेज

विप्लव माओवादीले चैत २४ देखि प्रतिरोध संघर्ष शुरु गर्ने, पार्टीमा व्यापक जिम्मेवारी हेरफेर, उपब्यूरो खारेज


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ चैत्र २०७२
  • 12.5K
    Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्ग संघर्षलाई चर्काउँदै यही चैत २४ गतेदेखि प्रतिरोध संघर्ष शुरु गर्ने भएको छ । तीन दिनसम्म लुम्बिनी क्षेत्रको अज्ञातस्थलमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यही चैत २४ लाई प्रतिरोधात्मक धक्काको रूपमा मनाउने निर्णय गरेको छ । वर्ग संघर्षलाई तीब्रता दिने निर्णय गरेको सो पार्टीले पार्टी र आम जनतालाई क्रान्तिकारीकरण गर्दै लैजाने पनि निर्णय गरेको छ भने देशभक्त, जनतान्त्रिक, आमूल परिवर्तनकारी शक्तिहरूका बीचमा क्रान्तिकारी ध्रुबीकरणमा जोड दिएको छ । त्यसका लागि सो पार्टीले व्यापक रुपमा आन्तरिक र बाह्य प्रशिक्षणलाई तीब्र बनाउने भएको छ ।
पार्टीलाई प्रतिरोध संघर्षमा केन्दि्रत गर्न सो पार्टीले पार्टीको आन्तरिक जिम्मेवारीमा पनि व्यापक हेरफेर गरेको छ भने बैठकले पार्टीका उपब्यूरोहरू सबै खारेज गरेको बताइएको छ । पार्टी स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई उपत्यका विशेष ब्यूरोका इन्चार्जबाट पार्टीको नीति निर्माणको जिम्मेवारी दिइएको छ । उनको ठाउँमा पोलिटब्यूरो सदस्य सन्तोष बुढा मगरलाई जिम्मेवारी दिइएको छ । बुढा यसअघि जनसरकार प्रमुख थिए ।त्यसैगरी अर्का पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलाई सेतीमहाकालीबाट सरुवा गरेर जनकपुर ब्यूरोको जिम्मेवारी दिइएको छ । त्यस्तै भेरी कर्णालीबाट सरुवा गरेर पोलिटब्यूरो सदस्य भरत बमलाई ताम्सालिङ ब्यूरो इन्चार्ज तोकिएको छ । सेती महाकालीमा शरदसिंह भण्डारी र भेरीकर्णालीमा कृष्ण धमलालाई जिम्मेवारी दिइएको छ । त्यस्तै केन्द्रीय सदस्य माइला लामालाई काठमाडौं, आजाद लाई ललितपुर, टेकबहादुर बलम्पाकीलाई सांस्कृतिक मोर्चाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया