पोखरा, १७ जेठ २०८३।
काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिक प्रहरीले गोली प्रहार गरेर लुटपाटमा संलग्न एक आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति काठमाडौं भद्रकालीका गणेश कार्की हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीसँगको मुठभेडका क्रममा गरिएको जवाफी कारबाहीमा कार्कीको बायाँ खुट्टामा गोली लागेको छ भने घटनामा एक प्रहरी कर्मचारी पनि घाइते भएका छन्। उनको नाम खुलाइएको छैन।
घाइते कार्कीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ भने घाइते प्रहरी कर्मचारीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो सुकेधारामा कार्की र अर्का एक व्यक्तिले एक महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुटेका थिए। त्यसपछि उनीहरूको खोजी गर्ने क्रममा जडीबुटी क्षेत्रमा प्रहरीसँग जम्काभेट भएको थियो र त्यही गोली हानाहान भएको प्रहरीको दाबी छ। सोही क्रममा ती महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुट्दै गरेका अर्का आरोपी विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार गोली लागेर पक्राउ परेका कार्की यसअघि डाँकाचोरी मुद्दामा कैद भोगिरहेका बेला ‘जेनजी आन्दोलन’ का क्रममा भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए। केही समयअघि उनले कपन क्षेत्रमा प्रहरीमाथि पनि खुर्सानीको धुलो छर्केर भाग्न सफल भएको प्रहरी स्रोतले जनाएको छ। एआइले तयार पारेको चित्र