लोकमानलाई कालोमोसो दल्ने युवालाई एक महिना जेल, विरोधमा शैक्षिक हडताल

लोकमानलाई कालोमोसो दल्ने युवालाई एक महिना जेल, विरोधमा शैक्षिक हडताल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ पुष २०७३
  • 19.3K
    Shares

लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने विप्लव माओवादीका दुई जना कार्यकर्ताहरुलाई सर्वोच्च अदालतले एक महिना जेल सजाय सुनाएको छ । पुस ८ गते अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढालाई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो । सर्वोच्चले आज जारी गरेएको आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने ।”

अदालत पुगेका कार्कीलाई शाही र बुढाले यही पुस ८ गते कालो मोसो दलेर दुर्व्यवहार गरेका थिए । त्यसलगत्तै भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका उनीहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । लोकमान सिंह कार्कीले भने विज्ञप्ति निकालेर ‘उनीहरु कारिन्दा हुन् छाड्दिनू’ भन्ने प्रतिक्रिया दिएका थिए ।

यता नेकपा (माअाेवादी)निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले १८ दिनसम्म हिरासतमा राखेर अाज मात्रै आफ्ना २ केन्द्रीय सदस्यलाई जेल सजाय सुनाएकाे भन्दै पुस २६ गते शैक्षिक हडताल आवहान गरेको छ ।

पूर्वघोसित कार्यक्रम अन्तर्गत नै हडताल भएपनि आजमात्रै सर्वोच्च अदालतले आफ्ना नेताहरुलाई एक महिना कैद हुने आदेश जारी गरेपछि संगठन झन आक्रोशित बनेको छ । आफ्ना कार्यकर्ता तत्काल रिहा नगरे संगठन तत्काल कडाभन्दा कडा कदम उठाउन बाध्य हुने क्रान्तिकारीको चेतावनी छ ।

“भ्रष्टहरुलाइ कारवाही तथा दण्डित गरेर निरुत्साहित गर्नुको साटो राज्य स्वयं नै त्यस्ता गतिविधि गर्नेहरुको संरक्षक मात्र भएर आफै त्यस्ता कार्यमा लागेको देखिन्छ ” संगठनका उपत्यका संयाेजक लाेकेश विश्वकर्माले भने “हाम्रो संगठनका केन्द्रिय सदश्य एवं  भ्रष्टाचार बिरोधि आन्दोलनका सिपाही क प्रकाश शाही र क चन्द्र बुढा बिगत १८ दिन देखी प्रहरी हिरासत राखेर आज एक महिनाको लागी जेल चलान गर्ने सर्वोच्चको निर्णयले हामीलाई आक्रोशित मात्र बनाएको छैन यो लडाइँमा डटेर लाग्ने थप आत्माबल पनि प्राप्त भएको छ । ”

भ्रष्टाचारको आरोपमा निलम्बित भएका लोकमानसिंह हिजो मात्रै पदमुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखजस्तो जिम्मेवारीपूर्ण हैसियतमा बसेर भ्रष्टाचारको खेति गरेको भन्दै विप्लव माओवादी निकट क्रान्तिकारीले उनिमाथि कालोमोसो दलेर जनकारवाही गरेको जनाएको छ ।

अदालतमा मुद्दाको तारिक लिन जाँदा गत ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएका द्वयलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया