कोरोना संक्रमणबाट बिराटनगरमा अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट बिराटनगरमा अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.9K
    Shares

मोरङ हस्पिटल प्रा.लि.

कोरोना संक्रमणबाट बिराटनगरमा अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु भएको छ । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको हो ।

मृतक चारमध्ये एक मोरङको पथरीशनिश्चरे नगरपालिका–१ निवासी पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन् । न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । न्युरोको कोभिड–१९ अस्पतालको आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसैगरी बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार